भैँसीपालनबाट मनग्य आम्दानी

घोराही (दाङ) । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुख्र्यौली पेसा भैँसीपालनबाट मनग्य आम्दानी हो । भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् । यादवले यसैको आम्दानीबाट घरपरिवारको खर्चको जोहो गर्दछन् ।

परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लगेका उनले भैँसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय रु एक लाख ५० हजारसम्म मासिक आम्दानी गर्न सफल भएका छन् । साना–ठूला गरेर ७२ भैँसीपालन गरेका उनले दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेको उनको भनाइ छ ।

उनले भने, “हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु ।” ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनी बताउँछन् ।

उनका भाइ टेकबहादुर यादवले लमही बजारसम्म दूध बिक्री गर्ने काम गर्दै आएको बताए । घरका अन्य सदस्यले पनि काममा साथ दिएको उनले बताए । विदेशमा अर्काको अधिनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उनी बताउँछन् । उनीसंग वैदेशिक रोजगारको समेत अनुभव छ ।

“विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा रु ६०–७० हजारसम्म कमाई हुन्छ, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ, भैँसी पाल्दै आएको छु । आम्दानी पनि राम्रै भइरहेको छ” उनले भने । दूध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरेपनि बाँकी रकम नाफा हुने गरेको उनले बताए ।

गाउँमा सबैभन्दा धेरै भैँसीपालन गर्ने किसानका रुपमा रहेका यावदले लाखौँ खर्च गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा परिवारसँग बसेर पैसा कमाउन सकिने अरुलाई समेत सुझाव दिने गर्छन् । त्यसका लागि आफूमा आत्मविश्वास हुनुपर्ने उनको भनाई छ । उनी भन्छन्, “विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाई गर्न सकिन्छ ।”

भँसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्छन्, “अहिलेसम्म जे–जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु । कतैबाट कुनै सहयोग लिएको छैन ।” कतैबाट सहयोग प्राप्त नभए पनि आफ्नै मेहनतले पुख्र्यौली पेसालाई व्यवस्थित गर्दै लग्ने उनको सोँच छ । रासस

You might also like

Comments are closed.