काठमाडौं । नेपाल निर्यात ब्यवसायी महासंघले उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको छ । सबैभन्दा बढी नेपाली उत्पादनलाई निर्यात गर्ने विभिन्न संघ संगठनले सिफारिस गरेका उद्योगलाई आफ्नो स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभाको अवसरमा महासंघले सम्मान गरेको हो ।
सोही अवसरमा यस वर्ष एसोसिएसनको तर्फबाट सबैभन्दा बढी छुर्पी निर्यात गर्ने नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य एवं छुर्पी चीज उपसमितिका संयोजक निराजन कोइराला सञ्चालक रहेको गायत्री डेरी उद्योग प्रालि सम्मानित भएको छ । नेपाल डेरी एसोसिएसनले महासंघसमक्ष गायत्री डेरीलाई सम्मानका लागि सिफारिस गरेको थियो । महासंघले आफ्नो सदस्यलाई सम्मान गरेकोमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले आभार व्यक्त गरे ।
महासंघको चौथो वार्षिक साधारणसभाको अवसरमा अर्थ मन्त्री प्रकाशसरण महतले सम्मान पत्र वितरण गरेका हुन् । आफ्नो बोल्ने क्रममा अरुको भन्दा फरक बस्तु मात्र निर्यात गर्न सजिलो, भने जति मूल्य लिन पाउने र सहज पनि हुने हुँदा अरुको नक्कल गरेरभन्दा पनि अलि युनिक बस्तुहरु निर्यात गर्न लाग्नु पर्ने कुरा मन्त्री महतले बताए ।
छुर्पी नेपालको मौलिक उत्पादन हो र यसको प्रबर्द्धन गर्न सक्दा नेपालमा यसको राम्रो सम्भावना भएको उनले बताए ।
छुर्पीले सजिलै विदेश मुद्रा भित्र्याउने, रोजगारीको सृजना हुने, दूध खपत बढाउन सहज हुने हुँदा नेपाल डेरी एसोसिएसन मार्फत छुर्पीको प्याट्र्न राइट लिने कुरा धेरै पहिला उठाएकाले यसमा तत्काल राज्यले चासो लिई अगाडि बढ्नुपर्ने सम्मानित गायत्री डेरीका संचालक निराजन कोइरालाले बताए । छुर्पीको प्याट्र्न राइट लिन सक्दा त्यसको रोयल्टीले पनि नेपाललाई धेरै फाइदा पुग्ने उनको भनाइ छ ।
Comments are closed.