नेपाल चरा उत्सव आउँदो माघ २६–२८ कावासोतीमा हुदै

मध्यविन्दु (नवलपरासी) । दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा हुने भएको छ ।

चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो ।

तीन दिनसम्म कावासोती नगरपालिका–१३ मा सञ्चालन गरिने उत्सवको मुख्य उद्देश्य चराको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नु रहेको नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले जानकारी दिए । नेपालमा सन् २०१८ मा पहिलो पटक चरा उत्सव भएको थियो ।

पछि सन् २०१९ मा कास्कीको पोखरामा चरा उत्सव आयोजना गरिएको थियो । उक्त उत्सवमा पाँचबुँदे घोषणापत्र जारी गरिएको थियो । कोभिड–१९ का कारण रोकिएको उत्सव पुनः आयोजना गर्न लागिएको उनले बताए ।

उत्सवमा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ सङ्घसंस्थाका प्रतिनिधि, भारत, भूटान, श्रीलङ्का, मलेसिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, जापान, स्विजरल्यान्ड, अमेरिका, आयरल्यान्ड, बेलायत लगायत देशबाट प्रतिनिधिको सहभागिता रहने ‘वल्र्ड एजुकेसन सोसाइटी’का अध्यक्ष टीकाराम गिरीले बताए ।

उत्सवमा पंक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पंक्षीकला प्रतियोगिता, पंक्षी अवलोकन, गिद्धका गतिविधि अवलोकन, जङ्गल सफारी, लोकसांस्कृतिक प्रस्तुति, पंक्षी सँगोष्ठी, कक्ष प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविर लगायत गतिविधि गरिनेछन् ।

नेपालमा आठ सय ९४ प्रजातिका पंक्षी पाइन्छन् । नवलपुरको नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास ५६५ प्रजातिका चरा पाइन्छन् । नेपालमा विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिका चरा पाइने गरेकामा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास ३९ प्रजातिका चरा पाइन्छन् ।

पोखरा पंक्षी समाजको आयोजना, जटायु रेँस्टुरेन्ट व्यवस्थापन समिति र वर्ड एजुकेसन सोसाइटीको सहआयोजनामा चरा उत्सव सञ्चालन गर्न लागिएको हो । उत्सवको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंछी संरक्षण सङ्घले समन्वय गरेका छन् । रासस

You might also like

Comments are closed.