पोखरा । पोखरा उद्योग वाणिज्य संघ ७० औँ वर्षमा प्रवेश गरेको छ । संघको स्थापनाको ७० औँ वर्षमा प्रवेश गरेको अवसरमा झण्डोत्तलन गरेर स्थापना दिवस मनाइएको छ ।
बिहीवार संघको सचिवालयमा झण्डोत्तलन गरी स्थापना दिवस मनाइएको संघका महासचिव बलराम आचार्यले जानकारी दिए । कार्यक्रममा संघका अध्यक्ष पवनकुमार प्रजापतिसहित पूर्वअध्यक्षहरु राजेन्द्रकुमार लालचन, कृष्णमोहन श्रेष्ठ र विश्वशंकर पालिखे, संघका पदाधिकारी, कार्यसमिति सदस्यको सहभागीता रहेको थियो ।
उद्योगी/व्यवसायीहरुको हितका लागि स्थापना भएको संघले उद्योग, व्यवसायको क्षेत्रमा मात्र नभई सामाजिक तथा शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको छ । पोखराको बालमन्दिरदेखि पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय लगायत धेरै शैक्षिक संस्थाको स्थापना र सञ्चालनमा महत्वपूर्ण भूमिका निभाएको छ ।
महेन्द्रपुल, पोखरा सभागृह, काहुँको धरहरादेखि सिद्धार्थ राजमार्ग निर्माण पनि गरेको संघका अध्यक्ष प्रजापतिले बताए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि निरन्तरको पैरवी तथा २०६९ मा रिले अनसनको नेतृत्व पनि संघले नै गरेको थियो ।
उद्योगी÷व्यवसायीहरुको हितको रक्षा गर्ने उद्धेश्यले स्वर्गीय अमृतप्रसाद शेरचनको अध्यक्षतामा वि.स.२०११ माघ २५ गते संघको स्थापना भएको हो । यो पोखराको सबैभन्दा जेठो सामाजिक संस्थाको रुपमा रहेको छ ।
Comments are closed.