राहतको पर्खाइमा झापाका ३२१ हात्तीपीडित

बनियानी (झापा) । झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका ३२१ परिवार सरकारी राहतको पर्खाइमा छन् ।

चालु आवको गत कात्तिक २ गतेसम्म ३२१ हात्तीपीडित परिवारलाई रु ५८ लाख २८ हजार ९४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

उनका अनुसार राहत माग गरिएकामा एक जना मृतकको रु १० लाख, तीन जना घाइतेका लागि रु पाँच लाख ८० हजार ९४०, चौपाया एक बराबर रु १० हजार, विभिन्न घरगोठमा पु¥याएको क्षतिको पूर्तिका लागि रु १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षति बराबर रु ६ लाख ३९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर रु २१ लाख १५ हजार ९ सय रहेको छ ।

कात्तिक २ गते यता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित १९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

मृतक चार जनाको रु ४० लाख, घाइते तीन जनाका लागि रु २ लाख ७० हजार ९५२, घरगोठका क्षति पुगेकाका लागि रु पाँच लाख ६४ हजार पाँच सय, भण्डारण गरिएको अन्न रु २ लाख ५२ हजार सात सय र बालीनाली रु १३ लाख ८७ हजार नौ सय गरी रु ६४ लाख ७६ हजार ५२ राहत मागका लागि तयार गरिएको वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए । हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको उनको भनाइ थियो ।

You might also like

Comments are closed.