बागलुङको निसीमा खानेपानीको समस्या : बजेट अभावले आयोजना सुरु हुन सकेन

ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन ।

निसीमा घरघरमा धारा बने पनि करिब १५ घरपरिवारले एउटै धाराबाट पानी उपभोग गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । सङ्घीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिएपनि बजेट अभावमा काम हुनसकेको छैन । खानेपानी आयोजना निर्माण सम्पन्नका लागि रु १२ करोड ९८ लाख लागत लाग्ने भए पनि दुईवर्षमा जम्मा रु २३ लाखमात्रै बजेट विनियोजन भएको छ ।

गत वर्षदेखि सुरु भएको आयोजना यसवर्ष सकिनुपर्ने हो तर बजेट अभावका कारण सर्वेक्षण बाहेक अन्यकाम हुनसकेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीबाट सञ्चालित आयोजनाका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०७९÷८० मा रु २० लाख र चालु आवमा रु ३ लाख ८५ हजारमात्रै बजेट विनियोजन गरेको छ ।

करोडौँका आयोजनामा रु २३ लाख ८५ हजारमात्रै विनियोजन हुँदा काम अन्यौलमा छ । लामो समयदेखि खानेपानी समस्यामा गुज्रिएका निसीवासी एक घर एक धाराका लागि सर्वेक्षण हुँदा हर्षित भएका थिए । अहिले पनि उनीहरु छिट्टै घर–घरमा धारा बन्नेमा आशावादी छन् । तर योजना के हुने हो भन्ने टुङ्गो छैन ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर नवीन सुवेदीले दुई वर्षमा सकिनुपर्ने आयोजना बजेट अभावका कारण काम हुन नसकेको बताउँछन् । बस्तीभन्दा धेरै टाढा रहेको नौबहिनी मुहानबाट निसीगाउँमा ७४६ वटा धारा बनाउनका लागि सर्वेक्षण गरे पनि अरु काम गर्न नसकेको उनको भनाइ छ ।

यो आयोजना समयमै सकिए यहाँका ५ हजार ५८१ नागरिक लाभान्वित हुने इन्जिनियर सुवेदीले बताए । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नगरेसम्म यो काम गर्न नसकिने भन्दै स्थानीय र सांसदले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

“यति ठूलो आयोजना छ, तर बजेट निकै कम परेको छ, बजेट व्यवस्थापन भएर आएन भने धेरै वर्ष लाग्ने देखिन्छ, दुई वर्षमा आयोजना सक्नुपर्ने लक्ष्य थियो, तर बजेटको यो आकार हेर्दा दशौँ वर्षसम्म पनि यो आयोजना सकिदैन, अहिले सर्वेक्षणको काममात्रै भएको छ”, इन्जिनियर सुवेदीले भने ।

इन्जिनियर सुवेदी भन्छन्, “यति बजेटले केही हुँदैन, थप बजेटका लागि पहल गरिरहेका छौँ, अहिले निसीमा भएको पानी व्यवस्थित छैन, एक घर एक धारा नभएको अवस्था छ, गत वर्षदेखि सुरु भएको आयोजना यसवर्ष सकिनुपथ्र्यो तर काम सुरु समेत गर्न गाह्रो छ ।”

स्थानीयवासीसमेत रहेका निसीखोला–६ का वडा सदस्य भरत सुनारले विसं २०७४ मा बनेका धाराबाट अहिले पनि स्थानीयले पानी भर्ने गरेको बताए । पछिल्लो समय निसीमा बाहिरबाट आएर पनि मानिस बसोबास गर्न थालेपछि उपभोक्ता बढेको जनाउँदै एउटा धाराबाट १५–१६ घरधुरीले पानी उपभोग गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

स्थानीय भुलबहादुर विकले तीन दशक अगाडि निर्माण भएका धारा व्यवस्थित नभएको बताउँछन् । अव्यवस्थित धाराबाटै स्थानीयले पानी प्रयोग गर्न बाध्य भएको जनाउँदै सरकारले एक घर एक धारा बनाउने भने पनि अहिलेसम्म बन्न नसकेको गुनासो पोखेका छन् । पुरानो धाराबाट शुद्ध र स्वच्छ पानीसमेत स्थानीयले पिउन नपाएको उनले बताए । रासस

 

You might also like

Comments are closed.