‘आर्थिक मन्दीले उद्योगीहरु समस्यामा छन्’

पोखरा । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले पछिल्लो समय उद्योगीहरु पीडा र समस्यामा रहेको बताएका छन् । आर्थिक मन्दीका कारण उत्पादनमा शिथिलता आएको बताउँदै उनले मन्दीको मारले उद्योगी व्यवसायीहरु मर्कामा परेको बताए । पोखरा औद्योगिक क्षेत्र उद्योग संघको २१औं वार्षिक साधारणसभाको उद्घाटनका अवसरमा बुधवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।

पछिल्लो समय केही समस्याहरु सिर्जना भएको र ती समस्याहरुको निराकण गर्नुपर्ने उनको भनाइ छ । औद्योगिक क्षेत्रभित्रका जग्गाहरु सरकारी जग्गा भएको र ती जग्गाको भूमि कर उद्योगीहरुले तिर्नुपर्ने अवस्था गलत भएको उनले बताए । भूमी कर नलिने व्यवस्थाका लागि स्थानीय तहहरुसँग समन्वयको काम भइरहेको पनि उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्योगी व्यवसायीहरुको गुनासाहरु सुुनेर व्यावसायिक क्षेत्रमा काम गर्न प्रदेश सरकार र मन्त्रालय तयार रहेको बताए । उद्योगका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार तयार रहेको र भित्री तहसम्म परेका समस्याहरु सरकारलाई सुझाउन पनि उनले आग्रह गरे । ‘उद्योगीहरुका भित्रि तहसम्म्मका समस्याहरु सरकारमा भएका व्यक्तिहरुलाई पनि थाहा नहुन सक्छ । निजी क्षेत्रका संघसंस्थाहरुले जानकारी तथा सुझाव दिनुपर्छ,’ उनले भने ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले देशभरका औद्योगिक क्षेत्रहरुको स्तरीकरणमा सरकारले ध्यान दिनुपर्ने बताए । ‘हाम्रा औद्योगिक क्षेत्रहरुलाई हेर्न लायक बनाउन जरुरी छ,’ उनले भने, ‘औद्योगिक क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ ।’

पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती, सिएनआईका गण्डकी प्रदेश अध्यक्ष बिनोद शर्मा न्यौपाने, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका निबर्तामान अध्यक्ष सुरेशबहादुर श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्रराज बस्ताकोटी, महासचिव फणिन्द्रराज शर्मा लगायतले बोलेका थिए ।

२०३१ सालमा स्थापना भएको पोखरा औद्योगिक क्षेत्रमा हाल ७६ वटा उद्योगहरु सञ्चालनमा छन् ।

You might also like

Comments are closed.

Secret Link