बागलुङ कालिका मन्दिरमा ७ महिनामा १ करोड ७१ लाख भेटी सङ्कलन

ढोरपाटन (बागलुङ) । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको ७ महिनामा रु १ करोड ७१ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा रु १ करोड २८ लाख भने खर्च गरेको छ । सो अवधिमा मन्दिरले रु ४२ लाख बचत गरेको पाइएको छ । मन्दिर व्यवस्थापन समितिले भौतिक संरचनासमेत निर्माण गरेको छ ।

मन्दिरमा गत माघ महिनामा मात्रै रु १९ लाख ७२ हजार भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा रु ३ लाख ५७ हजार खर्च हुने गरेको हो । बडादसैँ र चैतेदसैँमा भने करारका थप कर्मचारी राख्नुपर्दा खर्च पनि बढ्ने अध्यक्ष खड्काको भनाइ छ ।

बडादसैँ र चैते दसैँ भक्तजन बढी आउने भएकाले भेटी पनि अन्य महिनामा भन्दा बढी सङ्कलन हुने उनले बताए । मन्दिरमा चढाइने भेटीको दैनिक आम्दानी सार्वजनिक गरिँदै आइएको छ । व्यवस्थापन समितिले पछिल्लो २ वर्षमा चढाइएका सुनलगायत गरहना पनि सार्वजनिक गरेको छ । यस अवधिमा ३ तोला ४५ लाल सुन र ३ सय तोला ११ लाल चाँदी चढेको अध्यक्ष खड्का बताउँछन् । कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा चढेको गहना गालेर उक्त सुन र चाँदी तयार पारेको छ ।

खड्का अध्यक्ष भएपछि उक्त गहनासमेत सार्वजनिक भएको हो । खड्का २०७८ साल कात्तिक ८ गते अध्यक्ष नियुक्त भएका थिए । कालिका मन्दिरमा कतिपय भक्तजनले गरगहना बनाएर चढाउने गरेका छन् । नगदबाहेक चढाइने जिन्सीलाई नगदमा रुपान्तरण गर्न गहना गालेर एकमुष्ट बनाइएको अध्यक्ष खड्काले बताए ।

मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु ३ लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुर समेतबाट आम्दानी बाँध्ने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए । रासस

 

You might also like

Comments are closed.