रामपुर (पाल्पा) । भजन प्रायजसो उमेर ढल्केका समूहले नै धानेका हुन्छन् । धेरै ठाउँमा भजन समूहमा पाकापुस्ताको संलग्नता देखिन्छ ।
पाल्पाको रामपुरमा भजनकिर्तन संरक्षणका लागि भएको प्रतिष्पर्धामा बालबालिका र युवापुस्ताको राम्रो सहभागीता रह्यो ।
भजनको महत्वलाई जोगाई राख्न सञ्चालन भएको खुुल्ला लोक भजन प्रतियोगिताले भजनकिर्तनमा बालबालिका, युवा उमेर समूहको आकर्षण बढायो । विद्यालय तहमा अध्ययनरत बालबालिका प्रतिष्पर्धामा उत्रिएपछि भजन नयाँ पुस्तालाई सानै उमेरदेखि नै अभ्यास गराइरहनुपर्ने सहभागीले बताए ।
गाउँघरमा पाकापुस्ताले भजन सिकाउने र साना उमेर समूहका बालबालिकालाई सिकाई रहने वातावरण नहुदा भजन सँस्कृति नै लोप हुने अवस्थामा छ, हाम्रो सँस्कृति लोप नहोस् भन्नका लागि घरमा सीप सिकेर प्रतिष्पर्धामा सहभागीता जनाएको १२ वर्षीय अन्जन काफ्ले बताउँछन् ।
सो कार्यक्रममा उनको समूहले प्रतिष्पर्धाबाट तेस्रो स्थान हासिल गरेको छ । पाकापुस्ता तथा युवावस्थाका उमेर समूहसंग भजन प्रतियोगितामा सहभागी भएर तृतीय स्थानको पुरस्कार प्राप्त गर्दा उहाँ उत्साहित हुनुहुन्छ । उनको समूहमा आबद्ध सदस्य विद्यालय तहमा अध्ययन गर्ने छन् ।
“हाम्रो गाउँ ठाउँमा बेला–बेलामा भजनको महत्व जोगाइराख्न प्रतिष्पर्धात्मक कार्यक्रम, मेला, महोत्सव, धार्मिक कार्य लगायतका विभिन्न क्षेत्रमा सबै उमेर समूहलाई सहभागीता गराएर अघि बढे हराउादै जाने स्थित आउने छैन” उनले भने ।
प्रतियोगितामा प्रथम धर्मोदय दशावतार बालन साँस्कृतिक समूह ‘क’, द्वितिय धर्मोदय दशावतार बालन साँस्कृतिक समूह ‘ख’, तृतीय धर्मोदय दशावतार बालन साँस्कृतिक समूह ‘ग’ भएको निर्णायक मण्डलका संयोजक तथा आयोजक संस्थाका सल्लाहकार लेखनाथ शर्मा मरासिनीले जानकारी दिए ।
सान्त्वना स्याङ्जाको चापाकोट नगरपालिका ८ स्थित माडी सत्संग समूह, एकादशी भजनकिर्तन समूह, रामपुर नगरपालिका ६ कालिआँप ढालबहादुर मल्लको समूह र टापुधाम भजनकिर्तन समूह, रामपुर १ गिरधारी सिग्देलको समूह भएको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमश ः नगद रु १५ हजार, १० हजार, पाँच हजार र दुई हजार पाँच सय सहित प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा कालीगण्डकीबेशी क्षेत्रका १३ समुहको सहभागीता रहेको थियो ।
गाउँ समाजमा चलिआएको सँस्कृति संरक्षणमा स्थानीय निकाय तथा सरोकारवाला निकायले नयाँ पुस्तालाई समेटेर वाद्यवादन, भजन गायन सीप सिकाउने कार्यक्रममा जोड दिएमा पूरानो पुस्ताले मात्रै धानेको भजनकिर्तन अब नयाँ पुस्तामा हस्तान्तरण हुने भजन प्रतियोगिताका निर्णायक संयोजक शर्मा मरासिनी बताउँछन् ।
भजनलाई संरक्षण गर्न रामपुर भजनकिर्तन मण्डलीको आयोजना तथा रामपुर नगरपालिका ६ नम्वर वडा कार्यालयको आर्थिक सहयोगमा रामपुरमा लोक भजन प्रतियोगिता गरिएको हो । रामपुर नगर तथा यस आसपास क्षेत्रमा समाजमा प्रचलनमा रहेका तर पुस्ता हस्तान्तरण हुन नसकेका मौलिक तथा सनातन रुपमा प्रचलित लोक भजन सँस्कृतिको उजागर एवम् संरक्षण गर्नका लागि प्रतिष्पर्धात्मक रुपमा भएको प्रतियोगिताले भजनको महत्वलाई संरक्षण गर्न सबै उमेर समूहको साथको आवश्यक रहेको अवगत गराएको छ ।
रामपुर भजनकिर्तन मण्डलीका अध्यक्ष टिकाराम ढकालले पछिल्लो समय गाउँघरमा भजन गाउँने समूह पातलिदै जादा भजनको महत्व नै नयाँ पुस्ताले बिर्सिएको जस्तो अनुुभूती हुने अवस्था सिर्जना भएकाले सबै उमेर समूहलाई समेटेर प्रतिष्पर्धात्मक कार्यक्रम गरेको बताए । भजनका अगुवा ढकाल गाउँघरमा परम्परा देखि नै चलिआएका सँस्कृति संरक्षणमा अग्रसर भएर लागेका छन् ।
उनले नयाँ पुस्तालाई पनि भजनकिर्तन तथा बाद्यवादन क्षेत्रमा लाग्न उत्प्रेरणा दिदै आफ्नो घरमा विभिन्न थरी थरीका बाजागाजा व्यवस्था गरी सिकाउने पनि गर्दछन् । उनले आफूले बाँचुन्जेलसम्म भजन तथा लोपोन्मुख विभिन्न सँस्कृतिलाई उजागर गर्ने कार्यमा सक्रिय भएर लाग्ने प्रण गरेको बताए ।
भजनकिर्तन मानव मनलाई आनन्द बनाउने, हाम्रो कला सँस्कृति भएकाले वडा कार्यालयले हरेक वर्ष आर्थिक सहयोग गरिरहेको रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटा बताउँछन् । एक समुहमा सात जना, प्रतियोगितामा सात जनाकै समूूह भित्रबाटै गायन, बाद्यवादन र नृत्यकला व्यवस्था, प्रस्तुतीको समय १५ मिनेटको, प्रचलित नेपाली भाषामा भजन हुनुपर्ने, वाद्यवादनका साधन नेपाली प्रचलित लोक बाजामा आधारित हुनुपर्ने आयोजकले तोकेको मापदण्ड अनुसार नै सहभागीले आफ्नो प्रस्तुुती देखाएका थिए ।
Comments are closed.