नेपाल डेरी एशोसिएसनद्वारा प्रोलिफिक स्कुलमा दुधपान

काठमाडौं । काठमाडौं महानगरपालिका धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दुधपान गराइएको छ ।

नेपाल डेरी एशोसिएसनको आयोजना एवं दुग्ध विकास संस्थानको सहकार्यमा विद्यालयमा अध्ययनरत करिव ५ सय विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्रालयका मन्त्री ज्वालाकुमारी शाहको उपस्थितिमा दूधपान कार्यक्रम भएको हो । मन्त्री शाहले आफूले मन्त्रालय सम्हालेकै दिनबाट विशेषगरी दुध र दुग्ध किसानका समस्यालाई प्रमुख रुपमा हेरेको बताइन् ।

कार्यक्रममा बालबालिकालाई दुधपान गराउनुका साथै विद्यालय वरपरका ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान पत्रले सम्मान गरिएको छ ।
नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले दूध पूर्ण पौष्टिक आहार हो र दुध बालकदेखि वृद्धसम्म अनिवार्य आवश्यक खाद्य वस्तु रहेकाले जुनसुकै अवस्थामा पनि सेवन गर्न मिल्ने, बिहान, बेलुका, दिउँसो अनिवार्य सेवन गर्नुपर्ने बताए ।

प्रदेश सांसद जयराम थापाले दुध सेवन अनिवार्य गर्नुपर्ने तर उद्योगीले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए । पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले दुध खाएपछि अरु खानेकुरा नखाँदा पनि बाँच्न सकिने हुदा दुध पूर्ण खाद्यपदार्थ भएको बताउँछन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका निमिक्त कार्यकारी निर्देशक डा. बालक चौधरीले विश्व खाद्य संगठनका अनुसार प्रतिवर्ष प्रतिव्यक्ति ९२ लिटर दुध अनिवार्य सेवन गर्नुपर्ने, नेपालमा हाल ८७ लिटर मात्र सेवन गरेको पाइएको जानकारी दिए । दुग्ध विकास संस्थानका संजीव झाले दुध सेवन गर्दा लेबलिङ र प्याकेजिङ भएको मात्र सेवन गर्नुपर्ने बताए ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले गोठदेखि ओठसम्मकै अवस्था गुणस्तरयुक्त हुने कुरा प्रमुख रहेको हुदा त्यसमा किसानको पाटोमा हामी सजग रहेको बताए ।

कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले सरकारले निजि र सरकारीलाई एउटै आँखाले हेर्नुपर्ने बताउँदै नेपाल डेरी एशोसिएसनले गरेका हरेक गतिविधि सकारात्मक भएको र अहिलेको यो दुध तथा दुग्ध पदार्थ स्टक रहेको बेला यस्तो उपभोग बढाउन स्कुलमा दुधपान कार्यक्रम अत्यन्तै सान्दर्भिक भएको बताए ।

कार्यक्रममा विद्यार्थीले दुध सम्बन्धी कविता प्रस्तुत गरेका छन् । प्रधानाध्यापक गोपाल महतले सहभागीलाई धन्यवाद दिदै विद्यालयमा फरक खालको कार्यक्रम भएकाले विद्यार्थीहरु उत्साहित भएको बताए । नवप्रभात डेरीबाट उत्पादित दुध तथा दुग्ध पदार्थ अतिथिलाई मायाको चिनोस्वरुप प्रदान गरिएको छ ।

कार्यक्रममा कृषि उद्यम केन्द्र एवं उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजकुमार कार्की, कृषि उद्यम केन्द्रका सदस्य मनोज चापागाईं, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रशासन प्रमुख बिदुर राई, अनुशासन अधिकृत दिपेन्द्र अधिकारी, लेखा प्रमुख ओम खरेल, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, महासचिव राम आचार्य, नेपाल डेरी एशोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमला, मनोजकुमार घिमिरे, गोपाल तिमिल्सिना, सचिव श्याम घिमिरे, एशोसिएसन काठमाडौंका अध्यक्ष अजित बजगाई, सदस्य चेतनाथ दाहाल एवं विद्यालयका प्रधानाध्यापक गोपाल महत लगायताको सहभागीता रहेको थियो ।

 

You might also like

Comments are closed.