ग्रीन हाइड्रोजन उत्पादनमा निजी क्षेत्रको अग्रसरता, बुद्धभूमि र केयूबीच सम्झौता

काठमाडौं । नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौं विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न शुक्रबार एक सम्झौतामा हस्ताक्षर गरेको हो ।

यस अघि काठमाडौं विश्वविद्यालयले धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्ड भित्रै हाइड्रोजन ल्याब स्थापना गरी २०७९ मा हाइड्रोजन उत्पादन सुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङसमेत गरिसकेको छ । तर निजी क्षेत्रबाट भने यस अघि हाइड्रोजन उत्पादनका लागि कुनै पनि कम्पनी अघि बढेका थिएनन् ।

बुद्धभूमि हाइड्रोपवार कम्पनीले नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिकामा सञ्चालनमा ल्याएको ५ मेगावाट क्षमताको तल्लो ताँदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गर्नेगरी केयूसँग मिलेर अध्ययन प्रक्रिया अघि बढाएको बुद्धभूमि हाइड्रोपावर कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले बताए ।

‘वर्षामा विद्युत उत्पादन बढी हुने तर खपत नबढ्दा हरेक वर्ष निजी ऊर्जा उत्पादकहरुको विद्युत खेर गइरहेको छ,’ खतिवडाले भने, ‘यसरी खेर जाने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गरेर हिउँदको समयमा प्रयोग गर्न सकिए धेरै विद्युत आयोजनाको वर्षाको समस्या समाधान हुन्छ ।’

दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमता अनुसार उत्पादन सुरु गर्ने बताइएको छ ।

jutta mela

सम्झौतामा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेल, ग्रीन हाइड्रोजन ल्यावका प्रमुख डा. विराजसिंह थापा र एकेडेमिया इन्डष्ट्रिका संयोजक डा. राम लामा तथा कम्पनीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ, कार्यकारी निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत (सीइओ) शेखरकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि थापाले उक्त जलविद्युत् आयोजनामा वर्षामा बढेको पानीको बहावबाट ग्रीन हाइड्रोजन उत्पादन गरी वैज्ञानिक ढङ्गले सुरक्षितरुपमा जम्मा पारेर राख्ने र हिउँदमा प्रयोगमा ल्याउने गरी उत्पादन गरिने बताए । थापाका अनुसार केयूलाई थप अनुसन्धान गर्न निजी क्षेत्रको जलविद्युत् आयोजनासँग भएको सम्झौताले सहज भएको र निजी क्षेत्रका अन्य हाइड्रो कम्पनीसँग सहकार्य गर्ने बाटो खुलेको पनि बताए ।

कम्पनीका अध्यक्ष श्रेष्ठले जापानमा गएर ग्रीन हाइड्रोजन उत्पादन एवं यातायातमा गरिएको प्रयोग हेरेर यसप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताए ।

उनले पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र विजुलीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्ने र त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजना रहेको पनि बताए । उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गर्ने योजना बनाइएको छ ।

You might also like

Comments are closed.