मोहन्यालमा ९ वटा सिँचाइ योजनाको काम सुरु

गोदावरी (कैलाली) । कैलालीको मोहन्याल गाउपालिकाका ५ वडामा ९ वटा सिंचाइ योजनाको काम सुरु भएको छ । कृषकको खेतबारीमा सिंचाइ सुविधा पु¥याउन वडा नं ३, ४, ५, ६ र ७ मा सिंचाइ योजनाको काम सुरु गरिएको हो ।
खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्न खेतीयोग्य जमिनमा सिंचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ सशर्त अनुदानबाट विनियोजित रु २ करोड २० लाखबाट ती योजना सुरु भएको सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर अमरबहादुर पालले जानकारी दिए ।

 

सिंचाइ कार्यालयका अनुसार पट्रेनी सिंचाइ योजनामा रु २५ लाख, बडापानीमा १५ लाख, आमखोलामा १५ लाख, मौतोलीमा १५ लाख, माथिल्लो बारेगडामा २० लाख, बागेरवामा २० लाख, पटघारीमा २५ लाख, ओखडेको कोटमा २० लाख र अप्रीखोलामा २५ लाख बजेट विनियोजन गरिएको छ ।

 

त्यसैगरी मोहन्याल गाउँपालिका–३ मा एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानमार्फत रागमलेखा लिफ्ट सिंचाइ योजनाका लागि रु ५० लाख बजेट विनियोजन गरिएको कार्यालय प्रमुख पालले बताए । सो योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनको चरणमा रहेको छ ।

 

खाद्यबाली, तरकारी र फलफूलखेतीको सम्भावना बोकेको मोहन्यालका किसानले सिंचाइ अभावका कारण आकाशे पानीका भरमा खेती गर्दै आएका थिए । सिंचाइ योजना सम्पन्न भएपछि सधैँका लागि समस्या समाधान हुने स्थानीय टेकेन्द्र बोगटीले बताए । निर्माण सुरु गरिएका योजनामध्ये ३ वटा क्रमागत र बाँकी योजना नयाँ हुन् । रासस
You might also like

Comments are closed.