सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी बनाउन राष्ट्रिय गोष्ठी हुदै

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठी हुने भएको छ ।

आगामी बैशाख २५ र २६ गते काठमाडौंको सोल्टी होटल गोष्ठी हुन लागेको नेफ्स्कुनले जनाएको छ । ‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति’ भन्ने उद्धेश्यका साथ दोश्रो राष्ट्रिय गोष्ठी गर्न लागिएको नेफ्स्कुनका सीइओ डा. शिवजी सापकोटाले जानकारी दिए । गोष्ठीले लेखा समितिमा रहेका व्यक्तिको ज्ञान, सीप र क्षमतामा विकास गरी संस्थागत सुशासन कायम गर्न टेवा पु¥याउने उनले बताए ।

लेखा समितिको भूमिका, जिम्मेवारी, जवाफदेहिता र विश्व अभ्यास जस्ता विषयलाई समेटेर कार्यपत्रहरु प्रस्तुत गरिने हुदा सहभागिका लागि गोष्ठी उपलब्धीमूलक हुने उनको दावी छ । गोष्ठीमा विश्व ऋण परिषद्, एशियाली ऋण महासंघ, नेपाल राष्ट्र बैंक, आईक्यान र सहकारी विभागका साथै अभियानका तर्फबाट कार्यपत्र प्रस्तुत गरिने उनले बताए । गोष्ठीबाट संस्थालाई सुशासनमा हिडाउन र लेखा समितिमा रहेका व्यक्तिको क्षमता विकासमा टेवा पुग्ने उनको भनाई छ ।

लेखा समितिको चासो र क्षेत्रको बुझाइ एवम् प्रभावकारीता वृद्धि गरी संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति गर्ने, संस्थागत परीक्षणका क्षेत्र, विधि, प्रक्रिया र प्रतिवेदन प्रणालीमा एकरुपता कायम गरी परीक्षणमा जिम्मेवार पक्षहरुबीच प्रभावकारी सम्बन्ध विकास गर्ने र सुरक्षित साकोस निर्माणका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय औजारहरुको आन्तरिकीकरण गर्ने उद्देश्य गोष्ठीको छ ।

साकोस अभियानको नियामकीय दृष्टिकोणबाट विद्यमान समस्याको पहिचान गरी सम्बद्ध पक्षहरुको भूमिका स्पष्ट गर्ने, वित्तीय सहकारीको आन्तरिक नियन्त्रण प्रणालीका विश्व अभ्यास र नेपालको वित्तीय क्षेत्रका अभ्यासको जानकारी प्राप्त गरी आगामी कार्यदिशा तय गर्ने तथा सहकारी क्षेत्रको चुनौतीपूर्ण अवस्थामा लेखा समिति लगायत नेतृत्व तहमार्फत समाधानका सम्भावना पहिचान गर्न गोष्ठी सहयोगी बन्ने नेफ्स्कूनको विश्वास छ ।

गोष्ठीमा लेखा समितिका संयोजक, सदस्य एवम आन्तरिक लेखा परिक्षकलाई समेटिने जनाइएको छ । सहभागिताका लागि बैशाख २० गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने छ ।

साकोस अभियानको संस्थागत सुशासन प्रभावकारी बनाउन आन्तरिक नियन्त्रण प्रणालीको मुख्य पक्ष लेखा सुपरिवेक्षण समितिको साझा एवम् स्तरीय बुझाइ विकास गर्ने उद्देश्यले २०७३ सालमा पहिलो पटक यस्तो गोष्ठी आयोजना गरेको थियो ।

lcci
You might also like

Comments are closed.