पोखरा । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको आयोजना सञ्चालन भएको एकहप्ते सीपमुलक तालिम सम्पन्न भएको छ । कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी निःशुल्क सीपमुलक तालिम आयोजना गरिएको हो ।
तालिममा देशका ६६ जिल्लाका ९२ वटा विद्यालयका २८० विद्यार्थीले सक्रियतापूर्वक सहभागी भई ज्ञान सीप सिकेका छन् । तालिममा सहभागी भएका विद्यार्थी अहिले आफ्नो खुट्टामा उभिन सक्ने भएको प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।
गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नं १४ स्थित छिनेडाँडामा रहेको प्रतिष्ठित एनटिएचएमसि कलेज राष्ट्रिय रुपमा ब्राण्डिङ भएको छ । यसको चर्चा विदेशसम्म हुने गरेको बताउँदै रेग्मीले तालिम समापन समारोहमा विद्यार्थीको अनुभवबाट आफुहरु खुशी भएको बताए ।
विद्यार्थीले पढ्न र सिक्न राम्रो वातावरण पाएको, खाजा, खानाको सुविधा र विद्यार्थीमैत्री अध्ययन पद्धतीले आफुहरु निकै उत्साहीत भएको र कलेजमा सिकाउँदै, पढाउदै गर्ने वातावरण सिर्जना गरेकोमा धन्यवाद दिएका छन् ।
कलेजले स्थापनाको २५ औँ वर्षको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई सीपमूलक दक्षता अभिबृद्धि सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
एक सय जनालाई तालिममा सहभागी गराउने लक्ष्य रहेतापनि देशभरबाट ३०२ जनाले अनलाइन फाराम भरेकामध्ये २८० विद्यार्थी यस तालिममा सहभागी भएका हुन् । सहभागी भएका विज्ञान संकाय, होटल म्यानेजमेन्ट संकाय र व्यवस्थापन संकायका विद्यार्थीले कलेज अध्यापन गराइने बीबीए, बीबीए बीआई र बीएचएम विषयमा भर्ना गर्न सक्ने बताइएको छ ।
सहभागी फुड एण्ड वेभरेज समूहबाट अनुपम रिजालले तालिम फलदायी भएको बताएका छन् । हाउस किपिङ समूहबाट निकिता लामाले मेरो पहिलो बुझाई सरसफाई मात्रै होला भन्ने थियो, तर यसका अलावा सावर सजावट, टावेल आर्ट, कोठाको सफाई लगायतका ज्ञान हासिल गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले घरमा पनि सिकेका कुरालाई लागू गरेको बताउँछिन् ।
वारिष्टातर्फकी मञ्जु नेपालीले कफि भन्ने मात्रै बुझेकोमा तालिमबाट कफिका जातहरु, प्रकार, स्वाद, बनाउने विधि, मेसिन चलाउने सीप, विश्वमा कफिका लागि प्रख्यात देश, नेपालमा उत्पादन र बजारिकरण, १४ प्रकारका कफि बनाउने सीप सिक्न पाएकोमा कलेजलाई धन्यवाद दिइन् ।
बेकरी समूहको तर्फबाठ कृतिका पराजुलीले तालिम लिएपछि आफै बनाएर खान सक्ने, घरमा पनि बनाउन शुरु गरेको र भविष्यमा यस सीपले आत्मनिर्भर बन्न सघाउने बताइन् । किचन समूहका सूचना रानाभाटले कुकिङ सोखको विषय भएको र घरमा पकाउने सीप भएपनि विदेशी खाना बनाउने ज्ञान नभएकोमा तालिमबाट त्यो पूरा भएको बताएकिछिन् ।
कार्यक्रममा कलेजका भाईस प्रिन्सिपल राजकुमार कार्कीले कुनैपनि क्षेत्रमा पुग्दा सेवामा प्रवेश गर्दा र गरिरहँदा अनुशासनमा रहनुपर्ने, स्किल डेभलप, सकारात्मक प्रबृत्ति आवश्यक हुनेमा जोड दिए । तालिममा सहभागी विद्यार्थीलाई प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रमको सञ्चालन प्रियंका गुरुङले गरेकी हुन् ।
Comments are closed.