माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिए

माछापुच्छ्रे । कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ सैतीघट्टामा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको आयोजनामा सैतीघट्टास्थित गौरीशंकर मनिलाल माविमा शिविर सञ्चालन भएको हो ।

शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य जाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । उनका अनुसार बिरामीलाई स्वाथ्य जाँच पश्चात् औषधी उपलब्ध गराइएको छ । न्युन आएका भएकालाई उपचारको क्रममा जटील समस्या रहेको पाइएमा मनिपाल शिक्षण अस्पतालसंग सहकार्य गरेर थप उपचारमा सहयोग गर्ने अध्यक्ष भट्टराई बताउँछन् ।

नाक, कान, घाँटी, आँखा, महिला तथा प्रस्तुति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा प्रदान गरिएको छ । प्रत्येक वर्ष कास्कीका दुर्गम गाउँका नागरिकलाई सेवा दिने उद्धेश्यले स्वास्थ्य शिविर गर्दै आएको संस्थाले जनाएको छ ।
रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष सडक महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा वचत भएको केही रकम र संस्थाका सदस्यहरु समेतको आर्थिक सहयोगमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर गर्दै आएको रेवान पोखराका महासचिव भिष्मराज पौडेलले बताए ।

स्वास्थ्य शिविरमा मनिपाल अस्पताल पोखराका चिकित्सकले सेवा दिएका हुन् । रेवान पोखराका सचिव विकास भट्टराईले दुर्गम गाउँमा प्रत्येक वर्ष निरन्तर रुपमा स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै आर्थिक अभावका कारण थप उपचारमा समस्या आएमा रेवानले सघाउने बताएका छन् ।

माछापुच्छ्रे गाउँपालिका ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले दुर्गम गाउँमा आयोजना गरिएको यस स्वास्थ्य शिविरबाट स्थानीयमा ठूलो राहत मिलेको बताए । गाउँका स्थानीय नियमित स्वास्थ्य जाँच गराउन सहर बजारका अस्पतालमा पुग्न नसक्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनको आग्रह छ ।

कास्कीको सिदीङबाट ३ घण्टा हिडेर सेवा लिन आएका ७७ वर्षीय हरिलाल अधिकारीले गाउँमा आयोजना भएको स्वास्थ्य शिविरमार्फत उपचार गराउन पाउँदा धेरै राहत मिलेको बताउँछन् । सैतीघट्टी बस्ने सिता गुरुङले पाठेघर, आँखा सम्बन्धी समस्याले शिविरमा उपचार गराउन आएको बताइन् । आँखाको जाँचपछि चश्मा पाउँदा उनी खुशी भइन् । गौरीशंकर मनिलाल माविका शिक्षक भोलानाथ अधिकारीले शहरको पहुँचदेखि टाढा रहेको गाउँमा स्वास्थ्य शिविर आयोजना भएपछि स्थानीयले राम्रो स्वास्थ्य सेवा पाएको बताउँछन् ।

शिविरमा ४० वर्ष भन्दा कम उमेरका व्यक्तिमा सुगर, उच्च रक्तचाप, मृगौला र मुटु रोग सम्बन्धी समस्या देखिएको मनिपाल शिक्षण अस्पतालका फिजिसीयन डाक्टर अनमोल पौडेलले जानकारी दिएका छन् । खानपानमा ध्यान नदिदा यस्ता रोग लाग्ने हुदा समस्या देखिएका बिरामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने डाक्टर पौडेलको अनुरोध छ । खानामा नुनको मात्रा कम्तीमा तीन ग्राम भन्दा कम, रातो मासुको मात्रा कम, प्रशस्त मात्रामा शारिरिक व्यायाम नियमित रुपमा गर्न बिरामीलाई डाक्टर पौडेलले सल्लाह दिएका छन् ।

कार्यक्रममा स्थानीय समाजसेवी टेकबहादुर श्रेष्ठले उपचार खर्चको अभावमा उपचार गर्न सहर जान नसक्ने अवस्था समेत रहेका यस गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर रेवान पोखराले धेरै सहयोग गरेको बताए । मनिपाल शिक्षण अस्पताल पोखराका लियाजेन अफिसर कृष्णमोहन श्रेष्ठले स्वास्थ्य शिविरमा सेवा लिएका स्थानीयलाई अस्पतालले विभिन्न उपचारमा छुट दिने बताएका छन् ।

 

 

 

lcci
You might also like

Comments are closed.