घोराही (दाङ) । दाङ घोराही उपमहानगरपालिका–१८ रझेनाका ६० वर्षीया पार्वती घर्तीले मकै बेचेर जीविकोपार्जन गर्दै आएकीछिन् । जेठको चर्को घाममा पनि उनी मकै पोलेर बेच्न व्यस्त छन् । उनले विगत ३५ वर्षदेखि यसरी नै आफ्नो दैनिकी सञ्चालन गर्दै आएकी हुन् ।
हरेक वर्ष मकैको सिजन सुरु भएसँगै उनलाई पोलेर बेच्न भ्याइनभ्याइ हुन्छ । घर्तीले मौसमी मकैभन्दा बेमौसमी बढी बिक्ने भएकाले गर्मीमा पनि असिनापसिना भएर मकै पोल्दै आएको बताउँछिन् । “प्रतिगोटा रु २५ ले बेच्दा रु १० फाइदा हुन्छ । खर्च कटाएर दैनिक रु चार÷पाँच सयसम्म आम्दानी भइरहेको छ”, उनले भनिन् । यही कामबाट भएको आम्दानीले आफूसहित ५ जनाको जीविकोपार्जन भइरहेको उनले जानकारी दिइन् ।
घर्तीले भनिन्, “उमेरअनुसारको अन्य काम, पेसा व्यवसाय गर्न सकिँदैन त्यसकारण यही पेसालाई निरन्तरता दिँदै आएको छु । मैले पोलेको मकै सबैले असाध्यै मन पराउँने हुँदा खुसी लाग्छ ।” सानै भएपनि स्वरोजगार हुँदा आफूलाई आवश्यक परेमा रु दुई÷चार हजारका लागि अरुसँग हात थाप्न नपर्ने उनको अनुभव छ ।
गर्मीको समयमा केही समस्या भए पनि विगत लामो समयदेखि गर्दै आएको कामप्रति घर्ती सन्तुष्ट छन् । उनी बिहानको समयमा देउखुरीका विभिन्न ठाउँमा हरियो मकै लिन जान्छिन् भने दिउँसो २ बजेपछि घोराही–१५ को कृषिउपज बजार केन्द्रको अगाडितर्फ सडक छेउमा मकै पोलेर बेच्न व्यस्त हुन्छिन् । दैनिक रु १५ सयदेखि २ हजारसम्मको कारोबार हुने गरेको उनले बताइन् ।
घर्तीजस्तै घोराही–१८ का मनकुमारी नेपालीको पनि मकै बेचेरै दैनिकी बित्ने गरेको छ । ५८ वर्षीया मनकुमारीले २१ वर्षदेखि मकै पालेर बेच्ने गरेको बताउँछिन् । लामो समय भइसकेकाले आफूलाई यो पेसा सहज लाग्ने उनको भनाइ छ ।
“उमेर हुँदा पनि अरु जागीर गर्नको लागि पढाइ भएन । अहिले अरु काम गरेर खान पनि नसकिने अवस्था भएकाले मकै पोलेर बेच्ने गरेको छु । आफूले सक्दासम्म यो कामलाई निरन्तरता दिनेछु”, उनले भनिन्, “मकै लिन बिहान देउखुरी जान्छु, दिउँसोको समयमा पोल्ने र बेच्नेमा दिन बित्छ ।”
आजभोलि दाङमा अत्यधिक गर्मी बढेकाले केही समस्या भएको नेपालीले बताउनुभयो । आफूले पोलेको मकै सहज रुपमा बिक्री हुँदा खुसी लाग्ने उनको अनुभव छ । दैनिक ६०÷६५ गोटा मकै पोलेर बेच्ने गरेको बताउँदै उनले रु १५ सयदेखि २ हजारसम्मको कारोबार हुने जानकारी दिइन् ।
पार्वती घर्तीले मकै पोल्दै गरेको ठाउँमा भेटिएकी घोराही–१५ का डम्मरी रावतले बजारका अन्य खाजा खानुभन्दा स्वास्थ्यलाई पनि फाइदा हुने भन्दै मकै नै खान आग्रह गरिन् । आफू पनि हरेक दिन खाजा खाने समयमा उनले पोल्दै गरेको ठाउँमा आएर मकै खाने गरेको बताइन् । यति धेरै गर्मीको समयमा पनि उनीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिएको भन्दै आत्मविश्वासका लागि सबै महिलाले स्वरोजगार बन्नुपर्ने उनको भनाइ छ । रासस
Comments are closed.