रामपुर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि नगर सभाको १५ औँ अधिवेशनमार्फत ७३ करोड ८५ लाख ४ हजारको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगर सभाको १५ औँ अधिवेशनमा नगर उपप्रमुख बालकुमारी थापाले आर्थिक वर्ष २०८१/०८२ को लागि आर्थिक विद्येयक र विनियोजन विद्येयक प्रस्तुत गरिन् । बजेट सार्वजनिक गर्दै नगर प्रमुख थापाले आगामी आर्थिक वर्षको लागि चालु तर्फ ५६ करोड ३१ लाख ४४ हजार र पूँजिगततर्फ १७ करोड ५३ लाख ६० हजार गरी ७३ करोड ८५ लाख ४ हजार विनियोजन गरिएको बताइन् । जसमध्ये आर्थिक विकासतर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा ११ करोड ८० लाख ६० हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र २ करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १६ करोड विनियोजन गरिएको छ ।

आयतर्फ संघीय समानिकरण अनुदान १२ करोड ६ लाख, संघीय राजस्व बाँडफाँड बाट ११ करोड ६ लाख, संघीय समपुरक पूँजिगत १ करोड ३५ लाख, सशर्त चालुतर्फ ३४ करोड ५३ लाख ४ हजार, संघीय सशर्त पूँजिगत १ करोड २० लाख, प्रदेश समानिकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँड ८१ लाख ४० हजार, प्रदेश समपुरक १ करोड ५ लाख, प्रदेश सशर्त १ करोड र आन्तरिक स्रोतबाट ९ करोड ९५ लाख ९५ हजार जुटाउने अनुमान गरिएको छ ।

नगर सभामा रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका कार्यक्रमलाई निरन्तरता दिँदै नगरले उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेको बताए । नीति तथा कार्यक्रममा खाद्यान्नको बीउ विजनमा आत्मनिर्भर गराउन विजवृद्धि कार्यक्रम सञ्चालन गर्ने, नगदेबाली रैथाने खाद्यान्न बालीको खेती विस्तार गर्दै व्यावसायिकरण गर्ने, व्यावसायिक कृषि तथा पशुपंछी फर्म विस्तारका लागि मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने, स्थानीय वस्तुको उपभोग र उत्पादनलाई प्रोत्साहन गर्न हाटबजार सञ्चालन गर्ने, निस्दीखोला लगायत अन्य खोलाको केही क्षेत्रमा माछा पकेट क्षेत्र बनाइने नीति लिएको छ ।

विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका व्यक्तिमा रहेको सीपको विवरण समेत अद्यावधिक गरी स्थानीय तहमा रहेका रोजगारदाताहरुसंग समन्वय गरी रोजगारी प्रदान गर्ने नीति अवलम्बन गर्ने जनाएको छ । पर्यटन प्रवद्र्धनका लागि रामकथा संग सम्बन्धित क्षेत्र, मठ मन्दिर, कुण्ड, नदी, ताल तलैया जोड्ने गरी रामायण सर्किटको अवधारणा अघि बढाउने, होटल व्यवसायी, उद्योग वाणिज्य संघ र छिमेकी स्थानीय तह संग सहकार्य गरी यसवर्ष पर्यटन महोत्सव सञ्चालन गरिने थापाले बताए ।

सभाले विद्यायन समितिका संयोजक मीनबहादुर सिंजालीले प्रस्तुत गरेको स्थानीय युवा परिषद् विद्येयक पारित गरेको छ । साथै लेखा समितिका संयोजक तेजबहादुर राना, विद्यायन समितिका संयोजक मीनबहादुर सिंजाली, अनुगमन तथा सुशासन समितिका संयोजक मोहनबहादुर रानाले पेश गरेको वार्षिक प्रतिवेदन समेत पारित भएको छ । सभामा रामपुर नरपालिका ३ का वडाध्यक्ष दामोदर पाठक, वडा नं. ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले शुभकामना मन्तव्य राखेका छन् । सभाको शुन्य समय तथा छलफलमा रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटा, ८ का वडाध्यक्ष दिनेश आचार्य, १० का वडाध्यक्ष तोयानाथ सारु थापा लगायतले आफ्नो सुझाव राखेका छन् ।

नगर सभाको अवसरमा रामपुर नगरपालिकाले उत्कृष्ट कर्मचारी, करदाता, टोल विकास संस्था संगै पत्रकारलाई सम्मान गरेको छ । नगरपालिकाका प्रशासन शाखा अधिकृत युवराज पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत, वडा सचिव रजनी भण्डारी, वरिष्ठ प्रहरी हवल्दार ताराबहादुर सेन, सवारी चालक केशवराज गैरे, कार्यालय सहयोगी शारदा आचार्य, उत्कृष्ट करदाता चन्द्रसूर्य हार्डवयरका व्यवस्थापक दिपक आचार्य, पन्थे बरादी गैरा टोल विकास संस्था र पत्रकार इमान सिं रानालाई नगद र सम्मान पत्रसहित सम्मान गरेको हो ।

सभामा रामपुर नगरपालिकाले नगरको भुगोल, मुख्य पर्यटकिय एवं ऐतिहासिक स्थललाई समेटेर तयार गरेको लोगो सार्वजनिक गरिएको छ । सभामा प्रस्तुत भएको आर्थिक विद्येयक र विनियोजन विद्येयक माथि थप छलफलको लागि दोस्रो बैठक आगामी असार २० गते बस्ने गरी सभाको पहिलो बैठक सकिएको छ । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रम नगर प्रमुख थापाको अध्यक्षतामा भएको हो । नगर प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष कपिलबहादुर खाँणको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले गरेका हुन् ।

You might also like

Comments are closed.