मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल ५ लाख ३९ हजार ७६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिए । सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रापाइँ भएको छ । आइतबारसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा ४० दशमलव २ प्रतिशत, गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

 

jutta mela
देशभर रोपाइँ हुने क्षेत्रफल कूल १३ लाख ९८ हजार २७३ हेक्टर रहेको छ । सबैभन्दा धेरै मधेसमा ३ लाख ८३ हजार १५० हेक्टर क्षेत्रफल रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ९०४ क्षेत्रफल रहेको छ । अघिल्लो वर्ष असार २४ गतेसम्म देशभर ६ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफल (४२.९ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको थियो ।

 

नेपालमा वार्षिक औसत ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । माग ६२ लाख मेट्रिक टन रहेको छ । नेपालमा गत वर्ष अपेक्षाअनुसारको मात्रामा धान उत्पादन भएको र यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने सूचना अधिकारी चौलागाईले बताए । यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपाल प्रवेश गरेको हो ।

 

यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा सामान्यतया मनसुन अवधि सरदर जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ । यद्यपि मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ । रासस
You might also like

Comments are closed.