काठमाडौं । फेदीखोला (थुम्लुङ) जलविद्युत् आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले लगानी गर्ने भएको छ । फेदीखोला हाईड्रो पावर कम्पनी प्रा.लि.र बैंकबीच लगानी सम्झौता भएको छ । ४.३ मे.वा. क्षमताको उक्त परियोजनामा लगानीका लागि भएको सम्झोतामा बैंकका पुर्वाधार बैकिङ विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वाडा नं. ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ) जलविद्युत् आयोजनामा ५० करोड रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ ।
कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रा.लि.बाट लि. मा परिवर्तन गरि स्वपुँजीको ४४ करोड ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपओ निश्कासन यहि आ.व. भित्रमा गरिने लक्ष्य रहेको बताइएको छ ।
२०८२ असोज भित्र सम्पन्न हुने लक्ष्य रहेको आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम घर, आवास गृह लगायतको निर्माण सम्पन्न भएको छ । सिभिल निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
Comments are closed.