पोखरा महानगरद्वारा रासायनिक मलको मूल्य निर्धारण

कास्की । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ । महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आजको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।

मल वितरण व्यवस्थापन समितिका संयोजकसमेत रहेका महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डिएपी र पोटासको मूल्य तोकेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा युरिया प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ । डिएपीको प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकिएको छ । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो बढीमा रु २ थप लिन सक्ने निर्णय गरेको छ ।

पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्न छनोट भएका २६ वटा वडाका ६५ केन्द्रबाट मल बिक्री वितरण भइरहेको छ । मल बिक्री वितरणका लागि गत आव २०८०/८१ मा मल बिक्रेताले बिक्री गरेका आधारमा कोटा निर्धारण गरिएको प्रमुख कडरिया बताउँछन् ।

सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको र महानगरले तोकेकै मूल्यमा सहज रुपमा किसानलाई उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ । सहज र सुपथ मूल्यमा मल बिक्री गरे वा नगरेको अनुगमन गरिने पोखरा महानगरका उपप्रमुख गुुरुङले बताइन् ।

उनी भन्छन्,“महानगरमा सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको छ । किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध हुनुपर्छ । अघिल्ला वर्षहरुमा पनि हामीले नियमित अनुगमन गरेका थियौँ, यो वर्ष पनि त्यसलाई निरन्तरता दिन्छौँ ।” महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले अनुुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गरिने बताए ।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले युरिया, डिएपीको तुलनामा पोटासको खपत कम भएको जानकारी दिए । उनले रासायनिक मलको अनुुपात विश्लेषण गर्दा पोटासको प्रयोग कम भएको र यसबारेमा किसानलाई सचेतना अभिवृद्धिको खाँचो रहेको बताएका छन् ।

पोखरा महानगरमा गत आवमा युरिया १२ सय २१ मेट्रिक टन, डिएपी ६४५ मेट्रिक टन र पोटास ९८ दशमलव ९५ मेट्रिक टन गरी कूल १९ सय ६५ दशमलव २ मेट्रिक टन खपत भएको महानगरले जनाएको छ । रासस

You might also like

Comments are closed.