पोखरा । नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरामा ३ महिने ‘केयरगिभर तालिम’ को दोश्रो ब्याज सुरु भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभिटी) बाट स्वीकृत प्राप्त ‘केयरगिभर तालिम’ कम्तिमा ८ कक्षा उत्तीर्ण गरी १८ वर्ष उमेर पुगेकाले सहभागि हुन पाउने गरी सुचना प्रकाशन गरिएको थियो । आवेदन आएकामध्ये प्रवेश परीक्षा तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिएको हो । तालिममा पोखरा तथा पोखरा बाहिरका प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
सम्बन्धित क्षेत्रमा सीपमुलक जनशक्ति उत्पादन गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्धेश्य रहेको अस्पतालका नर्सिङ डाइरेक्टर वरुणा पौडेलले बताइन् । यसको साथै हाल अस्पतालमा क्रीटिकल केयर नर्सिङको पनि तालिम चलिरहेको छ । अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएसन अफ नेपाल (सीसीनान) सँगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी, एमएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सका लागि क्रिटिकल केयर नर्सिङ तालिम सञ्चालन गर्दै आइरहेको छ ।
अस्पतालका निर्देशक डा अभिषेक मास्केका अनुसार अस्पताल, नर्सिङ होम, होम केयर जस्ता संस्थामा गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले यो तालिमको ठुलो भूमिका रहेको छ । यति मात्र नभई यो तालिमले आफुलाई स्वदेशमा मात्र नभएर विदेशमा पनि रोजगारीका अवसरहरु प्राप्त गर्न सक्षम बनाउन मद्धत गर्नेछ ।
मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले सहभागीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उचित उपचार, स्वास्थ्य सेवा र स्वास्थ्य कर्मचारीको आवश्यकतालाई मध्यनजर गर्दै मणिपाल शिक्षण अस्पतालले समय–समयमा विभिन्न तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।






Comments are closed.