व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण

मध्यविन्दु (नवलपरासी) । बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईँले बताए । आव २०७९/८० मा भन्दा २०८०/८१ मा बाख्रापालन गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको पाइएको छ । “आव २०८०/८१ मा नयाँ १८ बाख्रा फार्म दर्ता भई सञ्चालनमा आएका छन् । अहिले जिल्लामा व्यावसायिक बाख्रा फार्मको सङ्ख्या २७४ पुगेको छ”, उनले भने, “आव २०७९/८० मा दर्ता भएका बाख्रा फार्म २५६ थियो ।”

फार्म नै दर्ता गरेर बाख्रापालन गर्नेको अनुपातमा व्यक्तिगत रूपमा खोर बनाएर बाख्रा पाल्ने सङ्ख्या अझ उल्लेख्य रहेको पाइएको छ । जिल्लामा आव २०७९/८० मा १ लाख ४३ हजार ९९० वटा बाख्रा रहेकामा गत आवमा सो सङ्ख्या २३ हजार ७८९ ले थप भई १ लाख ६७ हजार ७७९ पुगेको विज्ञ केन्द्रको तथ्याङ्कमा देखिएको छ ।

“पछिल्लो ३ वर्षमा जिल्लामा ४५ हजार २२२ बाख्रा थप भएका छन्”, प्रमुख गुरागाईँले भने, “तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले यसतर्फ अग्रसर भएको देखिन्छ ।”

बाख्रापालन गर्ने किसानको सङ्ख्या बढेसँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ । आव २०७९÷८० मा खसीबोकाको मासु ५८१ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९५ मेट्रिक टनले वृद्धि भई ६७६ मेट्रिक टन पुगेको प्रमुख गुरागाईँले बताए । जिल्लामा उत्पादन भएको खसीबोका किसान आफैँले बिक्री गर्ने गरेका छन् भने केही सहकारीमार्फत सङ्कलन गरेर बिक्री गर्ने गरिएको छ ।

“गत आवमा यहाँ उत्पादन भएको खसीबोकामध्ये १६६ मेट्रिक टन सहकारीमार्फत सङ्कलन गरी बिक्री गरिएको छ भने ५११ मेट्रिक टन किसान आफैँले बिक्री गरेका छन्”, उनले भने । नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट गत आवमा १५० मेट्रिक टन खसीबोका काठमाडौँ, पोखरा र चितवनका बजारमा निकासा भएको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्ला वर्षहरूमा पशुपालनका क्षेत्रमा गाईभैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि बाख्रापाल्नेको सङ्ख्या भने बढ्दै गएको छ । पशुपालनका क्षेत्रमा धेरै मेहनत र परिश्रम गर्नुपर्ने भएकाले त्यो क्षेत्रभन्दा कम मेहनत लाग्ने बाख्रापालनतर्फ किसानको आकर्षण बढेको देखिएको केन्द्रका प्रमुख गुरागाईँ बताउँछन् । रासस

You might also like

Comments are closed.