काभ्रेमा ३ सय सिँचाइ आयोजना निर्माण

काभ्रेपलाञ्चोक । जिल्लामा ३२६ सिँचाइ आयोजना निर्माण भएका छन् । बागमती प्रदेश सरकार तथा सङ्घीय सरकारको सशर्त अनुदानमा १ वर्षमा ती आयोजना पूरा भएका जिल्ला जलस्रोत तथा सिँचाइ विकास कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारको बजेटमा २९७ योजनाका लागि बजेट विनियोजन गरिएकामा २८८ वटा योजना सम्पन्न भएका उक्त कार्यालयका सूचना अधिकारी कुश बुढाथोकीले जानकारी दिए । प्रदेश सरकारअन्र्तगतका योजनामध्ये ४ योजना कार्यान्वयनमा जान सकेका थिएनन् भने ५ योजना गत असारमा सम्झौता भई काम सुरु भएको छ ।

त्यसैगरी सङ्घीय सरकारको सशर्त अनुदानतर्फ २९ योजनामा बजेट विनियोजन भएकामा दुईवटा एकीकृत ऊर्जा कार्यक्रमअन्र्तगतका सिँचाइ आयोजनाबाहेक २७ योजनाको काम भएको उक्त कार्यालयले जनाएको छ । अघिल्ला आर्थिक वर्ष र गत आर्थिक वर्षमा कार्यालयले कार्यान्वयन गरेका १७ बहुवर्षीय सिँचाइ आयोजनामध्ये २ वर्षअघि सुरु गरिएका ३ आयोजनाको काम सम्पन्न भएको इन्जिनियर बुढाथोकी बताउँछन् ।

बहुवर्षीय सिँचाइ योजनामध्ये चाखोला–चिते–सिङ्गे–चैनपुर सिँचाइ आयोजना मण्डनदेउपुर–३ र ४, आँसीखोला–आँपखोला सिँचाइ योजना मण्डनदेउपुर–४ र लप्सीबोट डिही–ओडारे–घिमिरेगाउँ बञ्जरे–रुप्सेटार मोड सिँचाइ आयोजनाको निर्माण सम्पन्न भएको हो । जिल्लामा सञ्चालित बहुवर्षीय सिँचाई योजनामध्ये तेमाल गाउँपालिका–८ स्थित सिँचाइ योजना, पाँचखाल नगरस्थित शङ्करेबाँध–ब्रम्हायणी सिँचाइ योजना निर्माण भइरहेको छ ।

त्यसैगरी पाँचखालकै चाखोला–जोरपिप्ले लिफ्ट सिँचाइ योजना, बनेपाको हिले–जलजले पर्यटकीय ताल, तेमालमा सुनकोशी–चोपाटार–मुक्पाटार सिँचाइ योजना र थिलवार पारी थिल्वार रोशी लिफ्ट सिँचाइ योजना, पनौतीमा बस्नेतटार लिफ्ट सिँचाइ योजना, रोशी गाउँपालिकामा शिखरटार सिँचाइ योजना, रोशी खोलाबाट काल्धारसम्मको लिफ्ट सिँचाइ आयोजनाको काम जारी रहेको उक्त कार्यालयले जनाएको छ ।

महाभारत गाउँपालिकामा ४ वटा बाहुनविर्ता–मुलिखोला लिफ्ट सिँचाइ योजना, कोखाजोर खोला आपटार गोकुले सिँचाइ योजना, चाउखोला धाप लिफ्ट सिँचाइ योजना, चाउखोला सोक्तेल सिँचाइ योजना र पोखराखोला–बेसारे खानीटार–छाङटार सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा छन् । यसैबीच खानिखोला गाउँपालिका–५ गैरीखोला तालढुङ्गामा एक घर एक धारा कार्यक्रमअन्तर्गत १४५ घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको छ ।

गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) सिन्धुली तथा स्थानीय जनश्रमदान गरी रु १ करोड ६ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त खानेपानी आयोजनाको २०८० साल साउन १ गते सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनले उक्त खानेपानी आयोजनाको शनिबार उद्घाटन गरेका थिए ।

You might also like

Comments are closed.