गो एमएल प्रणाली सम्बन्धी अभिमुखीकरण

श्रीराम सुबेदी
पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आयोजनामा सम्पत्ति शुद्धिकरण प्रतिवेदन प्रणाली (गो एमएल) सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । नेपाल राष्ट्र बैंक पोखरा वित्तीय जानकारी इकाईको प्राविधिक सहयोगमा सोमबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाईका प्रमुख डा. दिर्घबहादुर रावलले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापलाई कसरी रोक्ने र वित्तीय क्षेत्रका अनैतिक क्रियाकलापले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्ने समस्याका बारेमा सबैलाई बुझाउनु राष्ट्र बैंकको दायित्व भएको बताए ।

सकारात्मक सोँचका साथ शुद्धिकरण प्रतिवेदन प्रणालीलाई प्रयोग गर्नुपर्ने र शंकास्पद कारोबार तथा शंकास्पद समस्याबाट सहकारी क्षेत्रलाई दुरुपयोग नगरियोस् भन्ने मुख्य उद्देश्य राष्ट्र बैंकको रहेको बताउँदै डा. रावलले सहकारी क्षेत्रका चुनौती तथा समस्यालाई राष्ट्र बैंकले समाधानमा सहयोग गरी स्वच्छ र वित्तीय कारोबार व्यवस्थित बनाउन सबैको योगदान रहने विश्वास व्यक्त गरेका छन् ।

नेपाल राष्ट्र बैंक पोखरा शाखा कार्यालयका प्रमुख बिना ढकालले सहकारीको मूल्य मान्यतालाई कसैले बिर्सन नहुने बताउँछिन् । उनले सहकारी क्षेत्रमा केही समस्या देखिएका छन्, समस्या निराकरण गरी सहकारी क्षेत्र बचाउन हामी सबैको प्रतिबद्धता आवश्यक रहेको बताइन् । प्रमुख ढकालले ३ खम्बे अर्थनीति अनुसार सहकारी क्षेत्र एउटा खम्बा हो, कुनै एउटा क्षेत्रमा आएको समस्याले अर्को क्षेत्रमा पनि समस्या पार्ने भएको हुँदा सहकारी क्षेत्रलाई सजग र सचेत बनाउन आगमी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइरालाले सहकारी क्षेत्रलाई कसरी गुणात्मक विकास गराउने भन्ने एक मात्र उद्देश्य म्यानेजर्स क्लबको भएको बताउँदै वित्तीय क्षेत्रका अभिभावक तथा अग्रणी संस्थाको सहयोगलाई सहकारी क्षेत्रले अवसरको रुपमा उपयोग गर्ने बताए ।

कास्की जिल्लाका ४५ सहकारीका प्रमुख तथा कार्यान्वयन अधिकारी सहभागी थिए । कार्यक्रमको सहजीकरण नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाईका सहायक निर्देशक कमल पौडेलले गरेका हुन् । कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मोहन अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.

Secret Link