आर्थिक सुधारको आधार तयार हुँदैः नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् ।

ढकालले सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन् ।

भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि बढाएको जानकारी गराए । उनले सरकार, निजि क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सकिने बताए ।

ढकालले दुई संस्थाहरूले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने पनि उल्लेख गरे । महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि उनले जानकारी गराएका छन् । प्रतिवेदन व्यवसायिक समुदाय र नीति निर्माताका लागि महत्त्वपूर्ण साबित भएको उनी बताउँछन् ।

ढकालले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय वित्त निगम नेपाल टोलीसँग मिलेर निजी क्षेत्रमा पर्यावरण, सामाजिक र शासन कार्यक्रम ल्याउन कार्यरत रहेको र अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र मकहासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्त्वपूर्ण प्रगति गर्न सकिने विश्वास व्यक्त गरे ।

भेटको क्रममा फाखौरीले सार्वजनिक–निजी साझेदारीमा थप जोड दिन आवश्यक रहेको बताए । फाखौरीले यसै समयमा नेपालले केही आर्थिक चुनौतीको सामना गरिरहेको भएपनि देशका लागि धेरै अवसरहरू पनि रहेको उनी बताउँछन् ।

You might also like

Comments are closed.

Secret Link