चन्द्रागिरी । इन्जिनियरिङ ज्ञान नेपाल र एलसिके युनाइटेड स्टार्सको सहकार्यमा चन्द्रागिरीका २ विद्यालमा फोहोर व्यवस्थापन सम्बन्धी जनचेतनामुलक कार्यक्रम भएको छ ।
विद्यार्थीलाई सही तरिकाले फोहोर व्यवस्थापन गर्ने र यसको वातावरणमा पार्ने प्रभावका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो । जनविकास माध्यमिक विद्यालय चन्द्रागिरी–८ का ८० विद्यार्थी, १० शिक्षक तथा भैरवनाथ माध्यमिक विद्यालय बोसीगाउँ चन्द्रागिरी–१० का ३० विद्यार्थी र ५ शिक्षक कार्यक्रममा सहभागी थिए ।
कार्यक्रमको नेतृत्व इन्जिनियरिङ ज्ञान नेपालको फोहोर व्यवस्थापन विभागका प्रमुख तथा फोहोर व्यवस्थापनमा विद्यावारिधि गरिरहेका अनिलकुमार बरालले गरेका हुन् । उनले फोहोर व्यवस्थापन गर्ने तरिका र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावका बारेमा महत्वपूर्ण जानकारी दिए ।
जनविकास माविमा भएको कार्यक्रम वार्ड नं. ८ का वडाध्यक्ष प्रल्हाद रिजालको अध्यक्षतामा भएको हो भने गरे भैरवनाथ माविमा भएको कार्यक्रम वडा नं १० का वडाध्यक्ष शिव महर्जनको अध्यक्षतामा भएको हो ।
पर्यावरणविद् डा. बिदुर ढुंगेलले जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिको बारेमा र इन्जिनियर भीमबहादुर बम्जनले घरमा कम्पोस्ट बनाउने तरिका सम्बन्धी व्यावहारिक जानकारी दिएका छन् ।
लायन्स क्लब अफ काठमाडौँ युनाइटेड स्टार्सले पनि कार्यक्रममा महत्वपूर्ण भूमिका खेलेको थियो । सेवा प्रमुख अश्विन श्रेष्ठले दुबै विद्यालयलाई शान्ति पोस्टर प्रतियोगितामा सहभागी गराइएको र उत्कृष्ट पोस्टरलाई पुरस्कार दिइने घोषणा गरेका छन् ।
साथै, लायन्स क्लबका सदस्यहरू अश्विन श्रेष्ठ, सृजना बराल र सोनिका अर्यालले दुबै विद्यालयलाई ४ वटा डस्टबिन र ४ वटा बाल्टिन प्रदान गरेका छन् । शिक्षक र विद्यार्थीलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि प्रमाणपत्र प्रदान गरिएको छ ।






Comments are closed.