नेपाल उद्योग वाणिज्य महासंघ र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।

समारोहमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी रहेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मुलुकको अति नै महत्वपूर्ण विषय लघु साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी आयोजनाको लागि आभारी रहेको बताए ।

सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१—२०९१ मनाउन लागेको जानकारी गराउँदै मन्त्री अधिकारीले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भएको जानकारी दिएका छन् । महासंघ कृषि उद्यम केन्द्रकोद्धारा आयोजित गोष्ठीको निष्कर्ष कृषि दशकको लागि मार्ग दर्शक बन्न सकोस भन्ने कामना मन्त्री अधिकारीले व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरुले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याको निराकरण गर्न सबै पक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए । महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीका लागि, स्थापनाकाल देखि नै कार्य गर्दै आइरहेको बताएका छन् ।

परियोजनाले नेपालको कृषि रुपान्तरणका लािग महत्वपूर्ण योगदान गरिरहेको, यसले मकै लगायतका बालीलाई गर्ने प्रबद्र्धनबाट देशमा वर्षेनी बढ्दै गएको मकैको मागलाई सम्बोधन गर्न योगदान पुर्याईरहेकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गरे । नीजि क्षेत्रको प्रतिनीधको रुपमा आबश्यक पर्ने सहयोगका लागि सदैब तत्पर रहको बताउँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री बाताबरण श्रृजनाकालागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने आजको आवश्यकतालाई नीजि क्षेत्रको तर्फबाट सहकार्यका लागि आह्वान समेत गरे ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कृषि उद्यम केन्द्रका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतले २०४८ सालमा नेपाल उद्योग वाणिज्य महासंघको कृषिसंग सम्बन्धित एकाईको रुपमा स्थापना भएको कृषि उद्यम केन्द्र स्थापनामा नेपाल स्थित अमेरिकन सहयोग नियोग युएसएआईडीको ठूलो भूमिका रहेको बताए । स्थापनाकाल देखि हाल सम्म ३३ वर्षको यात्रामा कृषि उद्यम केन्द्रले कृषि व्यवसाय प्रबद्र्धनमा महत्वपूर्ण योगदान गरेको साथै यसले नीतिगत पैरवी गर्दै सरकारसंग नीति विकासमा हातेमालो गर्दै थुप्रै नीतिहरु विकासमा कृषि उद्यम केन्द्रको महत्वपूर्ण योगदान रहेको सभापति बस्नेतले बताएका छन् ।

यसका साथै केन्द्रले विभिन्न विकास साझेदारसंग मिलेर कृषि व्यवसाय प्रबद्र्धनका लागि सञ्चालित विभिन्न आयोजना, परियोजनाहरु कार्यान्वयन साझेदारको रुपमा रही योगदान रहेको समेत सभापति बस्नेतले जानकारी गराए । कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले सरकारले घोषणा गरेको कृषि लगानी वर्षमा यस गोष्ठीमा उठान भएका विषय वस्तुलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिमिटका आवासीय प्रतिनिधी एवं परियोजना संयोजक डा. द्युतीमान चौधरीले सिमिटले लामो समयदेखि मकै बाली लगायतको क्षेत्रमा कार्य गर्दै आइरहेको र हाल महासंघ कृषि उद्यम केन्द्र संगको सहकार्यमा सञ्चालित परियोजनाको परिणाम राम्रो आएकोमा खुशी व्यक्त गरे । इकोनोमिक ग्रोथ अफिस युएसएआइडि नेपालका उपनिर्देशक जुडिथ आल्मोडोभरले नेपाल बिऊ तथा मल परियोजना तथा सिमिट र एफएनसिसिआई एइसी संगको सहकार्यमा भएको कामको परिणाम राम्रो देखिएको प्रभावकारी ढंगले परियोजनाबाट भएकोमा सहकार्य सफल भएको अनुभुति भएको र आगामी दिनमा थप सहकार्य हुन सक्ने बताएका छन् ।

राष्ट्रिय सहकारीका अध्यक्ष ओमदेवी मल्लले नेपालमा सहकारीको १८ वटा क्षेत्र भएतापनि १७ वटाबाट अन्य कामहरु भइरहेको र १ बाट कृषि सहकारीको काम हुने गरेको जानकारी गराए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले देशको रोजगारीको सबै भन्दा धेरै हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको योगदान प्रशंसनीय रहेको बताए । प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले नेपाल कृषि प्रधान देश भएता पनि कृषिमा आत्मा निर्भर हुन नसकेकोमा दुख व्यक्त गर्दै कृषिमा क्रान्तिको आवश्यकता रहेको बताइन् ।

दुई दिने कार्यशाला गोष्ठीमा लुम्बीनी र सुदूरपश्चिम प्रदेशका कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कंचनपुरका साथै देशका विभिन्न जिल्लाका कृषि उद्यमी तथा जिल्ला स्तरका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रिय स्तरबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत सरकारी तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.

Secret Link