रामपुर (पाल्पा) । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति पाल्पाले विरामीलाई फलफूल वितरण गरेको छ । संघले इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मउत्सवको पूर्व सन्ध्यामा रामपुर अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गरेको हो ।
नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति पाल्पाका उपसभापति मोहमद ताजिम शेखको अध्यक्षतामा एक कार्यक्रम गरी विरामीलाई फलफूल वितरण तथा समाजसेवीलाई सम्मान तथा शुभकामना आदनप्रदान गरिएको छ ।
विहिबार अस्पतालमा उपचारत २५ जना विरामीलाई जनप्रतिनिधि, संघका सदस्य, सल्लाहकार, सामाजिक व्यक्ति, पत्रकार लगायतको उपस्थितीमा फलफूल वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रामपुर अस्पताल विकास समितिक निवर्तमान अध्यक्ष रामप्रसाद ढकाल (रमेश) ले संघले धार्मिक सहिष्णुता कायम राख्दै समाज रुपान्तरणमा खेलेको यस कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले मन फराकिलो बनाएर सेवामा लाग्न सकेमा सबैको भलो हुने बताएका छन् ।
कार्यक्रममा रामपुर नगरपालिका ४ का वडाध्यक्ष रामबहादुर राना, वडा नं. ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुनिलकुमार दास, नेपाली कांग्रेस रामपुर नगर कार्समितिका सभापति नेत्रप्रसाद भट्टराई, नेपाल मुस्लिम संघका केन्द्रिय प्रतिनिधि अस्गर अलीले बोल्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
कार्यक्रमको उद्देश्य संगै इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जीवनीमाथि नेपाल मुस्लिम संघका केन्द्रिय उपसभापति हजुलदिन मियाले जानकारी गराएका हुन् । उनले हरेक धर्मले शान्ति र अहिंसाको बाटो देखाएको बताए । कार्यक्रममा रामपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष रामप्रसाद ढकाल, रामपुर अस्पतालका निमिक्त मेसु डा सुनिलकुमार दास, शहीद बहुमुखी क्याम्पसका अध्यक्ष एवं कांग्रेस रामपुर नगर समितिका सभापति नेत्रप्रसाद भट्टराई, रामपुर ६ का समाजसेवी जयनारायण न्यौपाने र रामपुर ४ का रहमद अलीलाई दोसल्ला आढाई सम्मान गरिएको छ ।
नेपाल मुस्लिम संघ पाल्पाका उपसभापति मोहमद ताजिम शेखले जन्मदिनको दिन मस्जिदहरुमा कुरान पाठ गर्ने, उपदेश स्मरण गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने कार्यक्रम हुने भएकाले पूर्व सन्ध्यामा कार्यक्रम गरिएको बताए । इस्लामी पात्रो हिजरी संम्वतको १२ रब्बि औवलमा पैगम्बर महम्मदको जन्मदिन मनाउने गरिन्छ ।
धर्म गुरु मोहम्मदको १४४६ औं जन्मोत्सव यहि भदौ ३१ गते परेको उनले बताए । जिल्ला उपसभापति शेखले सामाजिक हितका क्षेत्रमा संघले काम गर्दै आएको र अबका दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाएका छन् । 
हाफिज कमु्रदिन मियाँको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन अहले सुन्नत जामे मस्जिदको सल्लाहाकार संयोजक लिलादिन मियाँले गरेका हुन् ।






Comments are closed.