रामपुर नगरपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन सम्बन्धी अभिमुखिकरण

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । नगरपालिकालाई आगामी २०८३ साल मङ्सीर ५ गते बालमैत्री स्थानीय तह घोषणा गर्नका लागि विभिन्न कार्यक्रम भइरहेका छन् ।

नगरपालिकाले वडा तहलाई बालमैत्री शासन घोषणाका लागि विभिन्न सुचक पूरा गर्न कार्यक्रम सञ्चालन र अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । यसैबीच बालमैत्री स्थानीय शासन अवलम्बन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न गरेको छ ।

नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि आवश्यक सुचक, अपनाइने रणनीति र आवश्यक तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न गरेको छ । बालमैत्री स्थानीय शासन घोषणाका ५१ वटा सुचक, घोषणाको कार्यविधि र कानुनी व्यवस्था, घोषणाको प्रक्रिया, नीति तथा योजना तर्जुमा र कार्यान्वयनको चरण लगायतका विषयमा अभिमुखिकरण प्रदान गरिएको हो ।

अभिमुखिकरण कार्यक्रमको समापन गर्दै नगर प्रमुख रमणबहादुर थापाले बालमैत्री स्थानीय शासन लागू गरे दिगो विकास सम्भव रहेको बताए । भौतिक संरचना निर्माणले क्षणिक रुपमा विकासको अनुभूति दिलाए पनि दिगो विकास सम्भव नभएको बताउँदै बालबालिकाको क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनले बताए ।

“भौतिक विकासले क्षणिक र सिमित मानिसलाई सुविधा हुन्छ तर भोलिको भविष्यका बालबालिकामा लगानी गरे यसले दिगो विकास र सम्मुन्नत समाज निर्माण हुन्छ, बाल अधिकार महत्वपूर्ण विषय भएको भन्दै हरेक बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि अभिभावक र सबै समुदायको उत्तिकै भूमिका रहनेछ” उनले भने ।

बाल अधिकारको सुनिश्चितता संगै उज्जवल भविष्यका लागि सबै सुचक पुरा गरी नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नुपर्ने नगर प्रमुख थापाले बताए । नगरपालिका भित्रका बालबालिकाको अधिकारका लागि सबै जिम्मेवार भएर लाग्न आग्रह गर्दै बालमैत्रि स्थानीय शासन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अभिमूखिकरण कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि सरकारी तथा गैर सरकारी कार्यालय, निजि तथा सामाजिक एवं सामुदायीक संस्था, जनप्रतिनिधि, समुदाय सबै सरोकारवालाले कार्यविधिको सही कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । उनले नगरपालिकाले नगरभित्रका बालबालिकाको स्थितिपत्र तयार गरेर लगानी बढाउन आवश्यक रहेको उल्लेख गर्दै साथै बालबालिकामा लगानी संगै अभिभावकले घरमा गर्ने व्यवहारमा परिवर्तन गर्न आग्रह गरेका छन् ।

यस्तै राष्ट्रिय बाल अधिकार परिषदका प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बालमैत्री स्थानीय शासन घोषणाका लागि ५१ वटा सुचक पुरा गर्न सबै निकायले ध्यान दिनुपर्ने बताएका छन् । उनले दिगो विकासको लक्ष्य प्राप्तिका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न आवश्यक रहेको भन्दै बालबालिकामा लगानी गर्न ढिलाई गर्न नहुने बताए ।

रामपुर नगरपालिकाको सभाहलमा भएको अभिमुखिकरणमा सहभागी वडाध्यक्ष तथा जनप्रतिनिधि एवं सरोकारवालाले रामपुर नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाका लागि कार्यविधि अनुसारको रणनीति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । रामपुर नगरपालिकाको आयोजना र राष्ट्रिय बाल अधिकार परिषदको सहजिकरणमा भएको अभिमुखिकरण कार्यक्रम नगर प्रमुख थापाको अध्यक्षता र महिला बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा सम्पन्न भएको हो ।

नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि वडा–वडामा बालमैत्री स्थानीय शासनका सुचक अनुसारको विभिन्न कार्यक्रम गर्दै आएको छ । अहिले रामपुर नगरपालिकाको वडा नं.२ लाई बालमैत्री स्थानीय शासन घोषणाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ ।

You might also like

Comments are closed.