विश्व दूध दिवस : सेन्ट जर्ज स्कुलमा जनचेतनामूलक कार्यक्रम

काठमाडौं । नेपाल डेरी एसोसिएसनले विश्व स्कुल दूध दिवसको अवसरमा सेन्ट जर्ज स्कुलमा जनचेतनामूलक कार्यक्रम गरेको छ । एसोसिएसनले दिवसको अवसरमा गत असोज ३ गतेबाट सप्ताहव्यापी रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।

केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले दूधबाट बनेका परिकार, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रम बताउँदै साताव्यापी रुपमा विद्यालय दूध दिवस मनाउँदाको महत्वबारे जानकारी दिए ।

एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमला र एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले दूधमा पौष्ट्रिक तत्व पाइने भएकाले नियमित रुपमा दूध सेवन गर्नुपर्ने बताए । केन्द्रीय सदस्य रविशरण थापाले बालकदेखि वृद्धसम्म दूध नभई नहुने बताएका छन् ।

दूध तथा दुग्ध पदार्थ उपभोग बढी गर्ने देशहरु विश्वमा हरेक कुरामा अग्र पंक्तिमा रहेका हुन्छन् । विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन सन् २००० देखि निरन्तर आज २४ वर्षसम्म भव्यताका साथ मनाउने गरेको तथ्यांक छ ।

यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दूध दिवस “नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन” भन्ने नारा सहित भव्यताका साथ सप्ताहव्यापी रुपमा मनाइदैछ । गत असोज ३ गतेबाट सुरु भई असोज ९ गते एक समारोहको आयोजना गरी मनाइने तयारी भइरहेको छ । एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दिवस मनाउन अनुरोध गरिसकेको छ ।

हाम्रो देशको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकाले अब आगामी दिनमा कम्तिमा बालबालिकाको लागि मात्र भएपनि ९२ लिटर अनिवार्य पुरयाउनुपर्ने देखिएकोले सरोकारवाला यसमा लाग्नुपर्ने देखिन्छ । बालबालिकालाई दूधको महत्वबारे बताउँदै अनिवार्य दूध सेवन गर्न प्रेरित गर्नुपर्छ ।
दूधको महत्वबारे अभिभावकले र विशेषगरी शिक्षकले पनि राम्रोसँग बुझेर सबै बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्नेछ । विद्यार्थीलाई दैनिक रुपमा दूध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षकको भुमिका महत्वपुर्ण हुने गर्छ ।

साथै विद्यालयले पनि दूध सेवनमा प्राथमिकता दिन अभिभावकलाई दूधको जानकारी सहित आग्रह गर्नुपर्छ । एसोसिएसनले समय–समयमा स्कुल–स्कुलमा गएर दूध तथा दुग्धपान गराउने र विविध कार्यक्रम गर्ने गरेको छ । समय–समयमा कविता र वक्तृत्वकला प्रतियोगिता गरी बालबालिकामा दूध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको छ ।

You might also like

Comments are closed.