एकेडेमिक इनोभेसन इन इण्डष्ट्री विषयमा सेमिनार सम्पन्न

काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले एकेडेमिक इनोभेसन इन इण्डष्ट्री विषयमा एक एकदिवसीय सेमिनार कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा नेपालका आइटी तथा इन्जिनियरिङ शिक्षा सञ्चालन गरिरहेका इन्जिनियरिङ कलेजहरु, प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवा प्रदायक संस्थाहरु, इन्जिनियरिङ शिक्षाका शिक्षाविद्हरु, इन्जिनियरिङ विषयका अनुसन्धानकर्ता तथा समग्र इन्जिनियरिङ विषयका विद्यार्थी सहभागी थिए ।

सेमिनारमा उपस्थित शिक्षाविदहरु त्रि.वि.इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरु प्राडा सुवर्ण शाक्य, डा.बाबुराम दवाडी, काठमाडौं विश्वविद्यालयका प्राडा सुदन झा, प्रा.डा. सुबोध त्रिपाठी, डा.राजिव सुव्वा प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवाप्रदायक संस्थाहरु लीप फ्रग, कोटीभिटी, इन्तजी लगायतका विज्ञ बीच नेपालको इन्जिनियरिङ शिक्षा तथा इन्जिनियरिङ सेवा र नवप्रवद्र्धन बीचको खाडललाई कम गर्ने सम्बन्धमा छलफल गरिएको हो ।

कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले आगामी दिनमा इन्जिनियरिङ सेवा, नवप्रवद्र्धन र इन्जिनियरिङ शिक्षा बीचको खाडललाई कम गर्न नियमित रुपमा यस्ता कार्यक्रम आयोजना गर्ने तथा कलेजका सम्पूर्ण श्रोत साधनहरु अनुसन्धानका लागि निःशूल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । प्रमुख अतिथि नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले नेपालको इन्जिनियरिङ शिक्षा तथा लाइसेन्सको अन्तर्राष्ट्रिय मान्यताका भइराखेका गतिविधिका बारेमा जानकारी दिएका छन् ।


एभरेस्ट इन्जिनियरिङ कलेजले यसै वर्षदेखि सञ्चालनमा ल्याएको स्नातकोत्तर कार्यक्रम, कम्प्युटर इन्जिनियरिङ सञ्चालन गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा एम.ई. कार्यक्रम संयोजक प्रा.डा.श्याम किरात राईले विद्यार्थीका लागि थेसिससहित २ वर्षमा पढाई सक्ने गरी विशिष्ट कार्ययोजना प्रस्तुत गरे । प्राचार्य इ. बिरोध रिजालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे भने सहप्राचार्य इ.रजिन लामाले स्वागत गरेका हुन् ।

You might also like

Comments are closed.