काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढीपहिरो प्रभावितलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका १ सय घरपरिवार र गोदावरी नगरपालिका वडा नं. ७ का १ सय घरपरिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत २ सय घरपरिवारका लागि राहत सामाग्री प्रदान गरे । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले परिसंघले दिएको राहत सामाग्री महाकाँल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कालाई उपलब्ध गराए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ललितपुरका यी विकट क्षेत्रका स्थानीयका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद दिएका छन् । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाल उद्योग परिसंघ पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझासहित प्रशासन कार्यालयका उच्च कर्मचारी लगायत सहभागी थिए ।
Comments are closed.