राष्ट्रिय वाणिज्य बैंकले गर्यो ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ गरेको छ ।

कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ गरेको हो । १० लाख रकमभित्र १ लाख रुपैंया बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिनेछ ।

कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुनेछ ।

यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिनेछ । आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहनेछ भने आवश्यकता अनुसार घर तथा जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिनेछ । कर्जाको बीमा गरिनेछ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयबाट किसान सरल कर्जा प्रदान गरिनेछ ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्युआर कोड, पिओएस, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

 

You might also like

Comments are closed.