राष्ट्रपतिद्वारा जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गरेका छन् ।

यहाँको त्रिवेणी नगरपालिका–७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले परापूर्वकालदेखि बडिमालिका क्षेत्रका यी पवित्र धार्मिकस्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको आफूले सुन्दै आएको बताएका छन् । उनी भन्छन्, “आज म यस पुण्यभूमिमा उभिएर प्रार्थना गर्दछु–सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस् ।”

राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस भएको बताए । “नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको अद्वितीय छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु” उनले भने ।

बाजुरावासीले आफूलाई ‘विपन्नतामा छौँ’ भन्ने भावना नराख्न आग्रह गर्दै उनले यस ठाउँको कृषि, पर्यटनको विकास हुने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामले एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए ।

उनी भन्छन्, “बाजुरामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक धरोहर हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्दछु ।” त्रिवेणीमा अवस्थित बडिमालिका दिव्यधामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडिमालिकाको दर्शन र नाट्यश्वरी देवीको दर्शन गर्न पाएकामा उनले खुसी प्रकट गरे ।

राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्र धार्मिक, पर्यटकीय, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक सुरम्य स्थलका रूपमा रहेको बताए । “यहाँका अलौकिक, प्राकृतिक सम्पदा जस्तैः कस्तुरी, मृग, झारल, घोरल, बाघ, भालु, विभिन्न चराचुरुङ्गी, डाँफे, मुनाल साथै अमूल्य जडीबुटीहरूले सु–शोभित पुण्यभूमिको आरक्षण र यस क्षेत्रको विकास जरुरी छ भन्ने मलाई लागेको छ, यसका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भने ।

यस दिव्यधामको सानिध्यमा रहेका त्रिवेणी, मौर्या क्षेत्र र नाट्यश्वरी देवीको मन्दिर नेपालको प्रसिद्ध धार्मिकस्थल हो । बडिमालिका दर्शनपछि नाट्यश्वरी मन्दिरमा आएर दर्शन गर्ने मान्यतासमेत रही आएको छ । स्कन्धपुराणको मानस खण्डमा यस स्थलको उल्लेख गरेको पाइन्छ ।

यसअघि आज बिहान राष्ट्रपति पौडेलले प्रसिद्ध धार्मिकस्थल बडिमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका थिए । सो अवसरमा प्रथम महिला सबिता पौडेल सहभागी थिइन् ।

You might also like

Comments are closed.