कालिका मन्दिरमा रु ४५ लाख भेटी सङ्कलन

गलकोट (बागलुङ) । बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा रु ४५ लाख भेटी सङ्कलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ ।
बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी सङ्कलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी हुने भेटीमध्ये ६० प्रतिशत सङ्कलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताए । असोजमा भेटीमार्फत रु २२ लाख ८० हजार, परेवा बिक्रीबाट रु ११ लाख ३६ हजार २५०, सटर भाडा रु ३ लाख ८५ हजार, बोकाको बली शुल्कबाट रु ४ लाख ४ हजार, चामल बिक्रीबाट रु ९६ हजार सङ्कलन भएको छ ।
साथै कुखुरा बली शुल्कबाट रु ३० हजार ८, राँगा बलीबाट रु १८ हजार ४ सय, विवाह शुल्क रु १० हजार ५ सय, आर्थिक सहयोग रु १ लाख ४७ हजार ८७१, पण्डितबाट प्राप्त शुल्क रु १६ हजार ४ सय र व्रतबन्धबाट रु ३ सय आम्दानी भएको समितिका अध्यक्ष खड्काले जानकारी दिए ।
साथै असोजमा विभिन्न शीर्षकमा रु १३ लाख ९० हजार खर्च भएको जनाइएको छ । अध्यक्ष खड्काले दिएको जानकारीअनुसार तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, विद्युत्लगायत उक्त रकम खर्च भएको छ ।
चाडवाडको समयमा कालिका मन्दिर दर्शन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँमा मात्रै ४ लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्याङ्क रहेको छ । गत चैते दसैँमा पनि रु ४० लाख भेटी सङ्कलन भएको थियो ।
You might also like

Comments are closed.