पोखरामा रगतको अभाव भएपछि एभरेस्ट एफएमले आकस्मिक रक्तदान कार्यक्रम गर्दै

पोखरा । एभरेस्ट एफएमले आगामी शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ । पोखरामा रगतको अभाव भएपछि रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आउँदो कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो ।

रक्तदान कार्यक्रम विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म चल्ने एफएमले जनाएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा रक्तदान कार्यक्रम गर्न लागिएको एफएमले जनाएको छ ।

‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले रगतको अभावमा आहत मनलाई राहत प्रदान गर्न रक्तदानमा सहभागी हुन आग्रह गरे । एफएमले गत वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदानमा १ सय ८१ युनिट रगत संकलन गर्न सफल भएको थियो ।

१७ देखि ६५ वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका स्वस्थ मानिसले रक्तदान गर्न सक्नेछन् । यसअघि ६० वर्षसम्मकाले मात्रै रक्तदान गर्न मिल्ने भनिदै आएका थियो तर पछिल्लो क्रममा ६५ वर्षसम्मकाले रक्तदान गर्नसक्ने जनाइएको छ ।

उच्च रक्तचाप भई औषधी सेवन गरेकालेपनि औषधी सेवनपछि सामान्य रक्तचाप भएको अवस्थामापनि रक्तदान गर्नसक्ने रक्तसञ्चार केन्द्रले जनाएको छ । रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वस्थ बनिने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरी कम भई शरिरको तौल घटाउन सहयोग पुग्ने बताइन्छ ।

 

You might also like

Comments are closed.