होटल संघ पोखरामा पुनः सुवेदीको नेतृत्व

पोखरा । होटल संघ पोखरा नेपालको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । संघको विहीबार पोखरामा सम्पन्न २१ औं अधिवेशन तथा ४२ औं साधारण सभाले १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल र सचिवमा पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भएका छन् ।

यसैगरी समितिको सदस्यमा भरतराज शर्मा, डिल्लीराम गौतम, पञ्चम लामा, शिवराज पहारी र प्रतीकराज पहारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक भरतराज पराजुलीले जानकारी दिए । स्टार र नन स्टार होटलतर्फबाट ६–६ जना, निवर्तमान अध्यक्ष एक जना र मनोनित चार गरी संघको कार्यसमिति कूल १७ सदस्यीय हुन्छ । अध्यक्षमा पुनः निर्वाचित भएपछि सुवेदीले सबै क्षेत्रको साथ र सहयोग लिएर संघका गतिविधि अगाडि बढाउने र प्रवद्र्धनका कार्यक्रमहरुमा जोड दिइने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अधिवेशन र साधारण सभाको उद्घाटन गरेका हुन् । कार्यक्रममा पोखरा पर्यटकीय राजधानी घोषणा गर्न गरिएको संघर्ष स्मरण गराउँदै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न हरसम्भव पहल गरिने बताएका छन् । पोखरा आउने पर्यटकको तथ्यांक राखिने घोषणा गर्दै उनले पोखरालाई सफा राख्न सरसफाई कर्मचारीहरुको संख्या वृद्धि गरिएको जानकारी गराए ।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले विविध समस्याका कारण अहिले होटल व्यवसाय अगाडि बढाउने कार्य चुनौतिपूर्ण भएको बताए । पर्यटक आगमन उत्साहप्रद नभएको र उनीहरुको बसाई अबधि समेत घट्न पुगेको गैह्रेले सुनाए । पोखरा पर्यटकको बाइपासमा पर्न थालेको भन्दै उनले पोखरामा अन्तर्राष्ट्रिय उडान अब अनिवार्य भएको बताएका छन् ।

होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल निर्वाचन समितिका संयोजक भरतराज पराजुलीले संघको नयाँ कार्यसमिति घोषणा गर्दै निर्वाचित सबैलाई बधाई दिए । होटल क्षेत्र सबैभन्दा ठूलो लगानी भएको क्षेत्र भन्दै उनले संघ पुरानो संस्था भएको समेत स्मरण गराए ।

उद्घाटन शत्रमा बोल्दै संघका अध्यक्ष सुवेदीले पोखरा र वरपरको होटल क्षेत्रमा ५ खर्ब रुपैयाँको लगानी रहेको जानकारी गराउँदै हवाई र सडक यातायातलाई चुस्त र दुरुस्त बनाए मात्र पोखरामा पर्यटक बढाउन सकिने बताए । संघ, पोखरा महानगर र वायु सेवा कम्पनीका प्रतिनिधिसँग बसेर पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल थालिने पनि उनले सुनाए । पर्यटन प्रबद्र्धनमा पोखरा महानगरका गतिविधि सराहनीय भएको उनले बताए ।

संघका महासचिव राजेन्द्र ढकालले भावि १२ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए । विविध प्रबद्र्धनका कार्यक्रम सञ्चालन गर्ने, जाउँ है पोखरा र चलिए पोखरा जस्ता कार्यक्रमको परिमार्जित रुपमा सञ्चालन तथा पर्यटकीय मार्टहरुमा सहभागिता जस्ता बुँदा भावि योजनामा समेटिएका छन् ।

You might also like

Comments are closed.