यातायात कार्यालयद्वारा ३ महिनामा २२ करोड ८१ लाख  राजस्व सङ्कलन

बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो ३ महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार ८०२ राजस्व  सङ्कलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार चालु आवको ३ महिनामा सवारी करबाट रु २ करोड ७४ लाख ६४ हजार ९५१, सवारी चालक अनुमतिपत्र वितरणबाट रु ७ करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट रु १२ करोड ४८ लाख २ हजार ५५३ तथा बेरुजुबाट रु ८ हजार २५० राजस्व सङ्कलन भएको छ ।

 

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल ५७३ वटा, साना सवारी ३३२ वटा, टेम्पो तथा ई–रिक्सा २४८ वटा, ठूला तथा मझौला सवारी १५८ वटा र ट्र्याक्टर एक गरी १ हजार ३१३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा नयाँ १ हजार १९६ र वर्ग थप ८५९ गरी २ हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले बताए ।

 

यस्तै सो अवधिमा १ हजार ५४६ नवीकरण, २९ वटा प्रतिलिपी १७ नवीकरण प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड ७ लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने ४ हजार ३९९ वटा सवारी साधन दर्ता गरेको थियो ।
You might also like

Comments are closed.