चितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु १ करोड १ लाखको अक्षयकोष स्थापना भएको छ ।
केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए ।
अक्षयकोषका लागि रु ११ हजार १ सयको आजीवन सदस्य र रु १ लाख १ हजारको संरक्षक सदस्य बनाइएको छ । ४५ जना संरक्षक सदस्य र ३२५ जना आजीवन सदस्य छन् । विसं २०७४ बाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो । कोषमा रु १० करोड जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा रु १८ लाखभन्दा बढी सङ्कलन भएको उनी बताउँछन् ।
गौँ संरक्षण केन्द्रले २५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए ।
दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् । योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेका हुन् । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।
Comments are closed.