२८ वर्षदेखि प्याजका विरुवा उत्पादनमा सक्रिय गोविन्द दुवाडी, एउटै सिजनमा कमाउँछन् डेढ लाख

सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पा रामपुरका गोविन्दप्रसाद दुवाडी एक असल विरुवा उत्पादक किसानको रुपमा कहलिएका छन् । उनले बिशेषगरी प्याजका विरुवा उत्पादन गरेर समाजमा असली प्याजका विरुवा उत्पादन गर्ने किसानको पहिचान बनाएका छन् ।

रामपुर नगरपालिका वडा नं ३ गण्डकीढिकस्थित कालीगण्डकी करिडोर सडकखण्डसँग जोडिएको उनको घरजग्गा छ । करिव एक रोपनी जग्गा उनले प्याजका विरुवा उत्पादनका लागि छुट्याएका छन् । सो जग्गा यतिबेला हरियाली विरुवाले ढाकिएको छ ।

प्याजका विरुवा बिक्रि कार्यमा उनको व्यस्तता बढेको छ । यही व्यवसायमा संलग्न भएको दुवाडीको २८ वर्ष पूरा भएको छ । अहिलेसम्म पनि निरन्तर रुपमा घरमै नर्सरी तयार पारेर प्याजका विरुवा उत्पादन तथा बिक्रि कार्य गरिरहेका छन् । विरुवा बिक्रि गरेर एक सिजनमै रु एक लाख ५० हजार बराबरको आम्दानी गर्छन् ।

“विरुवा उत्पादनका लागि समय धेरै पर्खन नपर्ने, छोटो समयमा थोरै लगानी गरेर एक सिजनमै राम्रो कमाउन सकिने रहेछ, यो व्यावसायलाई बिगत २८ वर्षदेखि निरन्तरता दिदै आएको छुु, विरुवाको व्यापार सन्तोषजनक छ” उनले भने ।

प्याज खरिदका लागि आउने ग्राहकले बन्दा, काउली, ब्रोकाउली, गोलभेँडा जातका विरुवा खोज्ने भएकाले यी जातका विरुवा पनि उत्पादन थालेका हुन् । हाल प्याज रु एकको तीनवटा, काउली रु पाँचको एकवटा, हाइब्रिड बन्दा रु पाँचको एकवटा, स्थानीय बन्दा रु पाँचको दुईवटा, ब्रोकाउली रु दशको एकवटा बिक्रि भइरहेको छ ।

“प्याजका विरुवा उत्पादन मेरो मुख्य जोड हो, घरमा प्याजका विरुवा खरिद गर्न आउने ग्राहक काउली, बन्दा, गोलभेँडा पनि धेरैले खोज्ने हुनाले प्याजसँगै यी जातका विरुवा उमार्ने गरेको छु” उनले भने,–“एकै ठाउँमा आफूलाई चाहिएको सबै जातका विरुवा पाइने भएपछि ग्राहकलाई धेरै सजिलो भएको छ” ।

घरका लागि विरुवा लगाउन गाउँमा खरिद गर्न जादा पैसा तिरेर पनि राम्रो विरुवा रोजेर लैजान नदिएपछि उनले अर्को वर्षबाट आफै उत्पादन गर्न थालेका हुन् । आधाकिलो प्याजको वीउँबाट विरुवा उत्पादन सुरु गरेको उनले बताए । क्रमिक रुपमा विरुवा उत्पादन राम्रो हुदै गएपछि अहिले गुणस्तरिय विरुवा उत्पादनका नामले यो क्षेत्रमा प्रख्यात बनेका छन् ।

विरुवाले उनको पहिचान बदलिएको छ । तालिम बिना उनले गुणस्तरिय विरुवा उत्पादन गर्दै आइरहेका छन् । यस व्यवसायमा उनले कुनैपनि निकायबाट सहयोग भने लिएका छैनन् । आफ्नै अनुभव र लगानीमा निरन्तर विरुवा उत्पादन गरिरहेका छन् । अनुदानका लागि पछि लाग्नुभन्दा आफ्नै लगानीमा काम गरेर समाजमा यस व्यवसायबाट चिनिन पाउँदा दुवाडी खुशी छन् ।

काठमाडौं, पोखरा, नारायणगढ, तानसेन, बुटवल, स्याङजा, तनहुँ, नवलपरासी लगायतका विभिन्न स्थानमा विरुवा खपत हुने गरेको छ । यसवर्ष रु एक लाख ५० हजार बढीको आम्दानी हुने उनका श्रीमती मतिकला दुवाडीको अनुमान छ । विरुवा उखेल्ने र ग्राहकलाई बिक्रि गर्न श्रीमान् श्रीमती नै दिनभर खटेर काम गरिरहेको मतिकलाले बताइन् ।

यात्रुले गाडी रोकेर खरिद गर्ने हुनाले विरुवा उखेलेर ग्राहकलाई बेच्न भ्याइनभ्याई हुने गरेको मतिकला बताउँछिन् । यहाँ उत्पादन भएको विरुवाले फल उत्पादन राम्रो दिने भएकाले धेरै टाढासम्मका ग्राहकले खोजी खोजी लैजाने गर्दछन् । “यात्रुले गाडीभित्रैबाट हरियाली विरुवा देखेपछि एकछिन गाडी रोकेर लैजाने गर्नुहुन्छ, हामीले पहिले नै उखेर तयारी बनाएर राखिदिने गरेपछि गाउँघरमा मात्र नभई शहर बजारमा समेत हाम्रो विरुवा पुग्ने गरेको छ” मतिकलाले खुशी हुँदै भनिन् ।

त्यसैगरी रामपुर नगरपालिका ६ स्थित प्याक्लुक बस्ने राधिका बस्यालले पनि करिव एक रोपनी जग्गामा आफै नर्सरी तयार पारेर विरुवा उत्पादन गर्दै आएकी छन् । प्याज, काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा उत्पादन सँगसँगै हुने भएकाले एक सिजनमा नै रु एक लाख बराबरको आम्दानी हुने गरेको उनी बताउँछिन् ।

यतिबेला ग्राहकलाई नर्सरीबाट विरुवा बिक्रि गर्न व्यस्त भएको भागिरथा बस्यालले बताइन् । तरकारी खेतीको तुलनामा छोटो समयमा आम्दानी धेरै हुने भएकाले विरुवा उत्पादनमा जोड दिएको उनको अनुभव छ । पछिल्लो समय घरायसी प्रयोजनका लागि घर–घरमा काउली, बन्दा, ब्रोकाउली, प्याज, गोलभेँडा जातका विरुवा लगाइने भएकाले खरिद गर्ने ग्राहक बढ्दै गएका छन् ।

यतिबेला खेतबारीमा प्याज, काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा जातका विरुवा लगाउने समय भएकाले ग्राहक खरिदका लागि विभिन्न नर्सरीमा पुग्ने गरेका छन् । तरकारी खेतीका लागि आम्दानी लिन धेरै समय पर्खनुपर्ने, उत्पादन नहुदासम्म हेरचाहमा ध्यान दिनुपर्ने हुदा विरुवाबाटै धेरै कमाउन सकिने व्यवसायीले बताएका छन् ।

छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय किसानको विरुवा उत्पादनमा आकर्षण बढेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउँछन् । ठूलो परिमाणमा उत्पादन गर्ने किसानलाई शाखाबाट विभिन्न सहयोग गर्ने उनको भनाइ छ ।

You might also like

Comments are closed.