मङ्गलबारे (इलाम) । ‘अब यो किबी उखेलेर अलैँची नै लगाउने हो’ मकै बारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने । करिब ७ देखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने भन्दै उनले किबीभन्दा अलैँचीबाट नै दशौँ गुणा फाइदा हुने बताए ।
सुरुमा मकै छर्ने टार बारीमा हाल करिब २० बोट रोपेका छन् । किबी र अलैँची तुलना गर्दै उनी भन्छन्, “ऊ बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मन माथि फल्ने थियो, ऐलेको भाउमा पनि २ लाख माथि नै हुन्थ्यो ।” करिब २० बोट किबीबाट ५ हजारको पनि आम्दानी नभएको उनको भनाइ छ ।
इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र होइन, सो क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाएका छन् । अलैँची बराबरको मूल्य अन्य खेतीबाट हुन नसक्ने किसान बताउँछन् । अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो एक सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ तर अलैँची प्रतिकिलो २ हजार ८ सय माथिले बिक्री भइरहेको छ । अलैँचीको मूल्य हाल रु १ लाख १५ हजारसम्मले कारोबार भइरहेको छ ।
कुनै बेला प्रतिकिलो ६ सय माथिले कारोबार भएको किबी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरुको भनाइ छ । बिक्री भएको किबी समेत कम मूल्यमा गइरहेको किसान बताउँछन् । किबीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको उनीहरु बताउँछन् । किबीको बजारीकरणमा समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ ।
किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्य समेत आलु बराबर मात्र पाइने गरेको उनी बताउँछन् । सुरुमा किबी गर्ने किसानहरुले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको छ । सोचेजस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताए ।
किबीलाई फलफूलको राजा समेत उपनाम दिइएको छ । एउटै किबीबाट धेरैवटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रुपमा लिइन्छ । तर बजारीकरणमा सरकार तथा सम्बन्धित निकायले चासो नदिएको किसानहरुको आरोप छ । धेरै पौष्टिक तत्वले भरिपूर्ण मानिएको किबी फल इलामसहित काभ्रे, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा समेत खेती हुँदै आएको छ ।
पश्चिमी जिल्लाहरुमा समेत पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ । किबी फलको खेती तथा उपभोग दर विस्तार हुँदै गएको पाइन्छ । यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नु पर्दछ । भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ ।
यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुन्द्रीक सहतदेखि १२ सय मिटरदेखि माथि २४ सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिने बताइएको छ । यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ ।
रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुन्द्रीक सहतदेखि १२ सय मिटरदेखि माथि २४ सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिने बताइएको छ । इलाममा करिब कुल ७८० हेक्टरमा किबीखेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताए ।
अघिल्लो वर्ष २ हजार ८५२ मेट्रिकटन किबी उत्पादन भएको उनले जानकारी दिए । किबीलाई प्रशोधन गरेर जुस, जाम समेत बनाउन सकिन्छ । जुस, जाम वा अचार बनाउन समेत पहल गर्ने हो भने किबीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानहरुको भनाइ छ । रासस
Comments are closed.