दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा अग्लो (२ हजार १३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित मासले स्थानीयस्तरमै बजार पाएपछि यहाँका कृषक उत्साहित भएका हुन् ।
छिम्केश्वरीस्थित बगई, खेउसिङमा उत्पादित मास आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारबाट सहज रूपमा बिक्री भइरहेको छ । यहाँ कृषकलाई मागअनुसार मास पु¥याउनै हम्मेहम्मे भइरहेको छ । खेउसिङका कृषक कमानसिंह गुरुङले विगत वर्षहरूमा बजार खोज्दै हिँड्नु परे पनि यसपटक यहाँ उत्पादित मासले बजार पाएपछि आफूहरू खुसी भएको बताए ।
उनी भन्छन्, “विगतमा मास बिक्रीका लागि भौँतारिनुपथ्र्यो, अहिले त सहज रूपमा बिक्री गर्न पाउँदा सजिलो भयो ।” आँबुखैरेनी गाउँपालिकामा विगत एक वर्षदेखि सञ्चालनमा आएको हाटबजारले कृषि सामग्री बिक्री वितरण गर्न सजिलो भएको उनको भनाइ छ ।बगईका कृषक सानुमाया भुजेलले मासले बजार पाउन थालेपछि यस खेतीतर्फ झनै आकर्षण बढ्ने बताइन् ।
“बजार नपाउँदा कृषक खेतीतर्फ प्रोत्साहित हुँदैनन् तर जब उत्पादित सामग्रीले बजार पाउँछ त्यसले आकर्षण बढ्छ”, उनी भन्छिन्, “गाउँपालिकाको पहलमा सहज रूपमा मास बिक्री गर्न पाउँदा सजिलो भएको छ ।” आँबुखैरेनीस्थित हाटबजारमा ६ हजार ७५ किलोग्राम मास बिक्री भएको छ । पहिलो चरणमा ४ हजार २ सय र दोस्रो चरणमा १ हजार ८७५ किलो मास बिक्री भएको हो ।
त्यस क्रममा कृषकले रु १२ लाख १५ हजार आम्दानी गर्न सफल भएका छन् । पहिलो चरणमा रु ८ लाख ४० हजार र दोस्रो चरणमा रु ३ लाख ७५ हजारको मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनका अनुसार प्रतिकिलो रु २ सयमा मास बिक्री गरिएको छ । “माग धेरै हुँदा सबैलाई पु¥याउन सकिएको छैन”, केसीले भने ।
गाउँपालिकाले हाटबजारसम्म ढुवानीका लागि सवारीसाधनको व्यवस्थापन गरिदिएको थियो । यस्तै, मास उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २५ अनुदान दिने व्यवस्था मिलाइएको केसीले बताए । गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई जोड्ने काम गरेको छ ।
हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोका रूपमा विकास भएको कृषकहरूले बताएका छन् । हाटबजारमा प्रत्येक शुक्रबार कृषकले कृषिउपज वस्तु बिक्री वितरणका ल्याउँछन् । हाटबजारमा मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले १० वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरिएको जानकारी दिए । उनले वार्षिक रु २ लाख ५० हजार भाडा तिर्नेगरी गाउँपालिकाले जग्गा भाडामा लिएको बताएका छन् । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने व्यवस्था गरिएको छ । रासस
Comments are closed.