ग्रामीण सचेतनको ‘सहकारी शिक्षा तथा प्रशिक्षण’ कार्यक्रम

पर्वत । कुश्मा नगरपालिका वडा नम्वर ६, न्युरोडमा प्रधान कार्यालय रहेको ग्रामीण सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले फलेवास नगरपालिकामा रहेका आफ्ना शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सरकारको चार खम्बे नीति अन्तर्गतको देशको अर्थतन्त्रको एक महत्वपूर्ण अंग सहकारी रहेको र देश भित्र रहेका झन्डै ३५ हजार भन्दा बढि सहकारी संस्थाहरुलाई नियमन र नियन्त्रण गर्दै सहकारीलाई व्यवस्थित नियमन र नियन्त्रण गर्न नयाँ ऐन निर्माण भएको र देश संघियतामा गएपछिको परिवर्तित विभिन्न ऐन, नियम तथा नियमावलीहरुको बारेमा शिक्षा प्रदान गर्ने र सहकारीका सम्पूर्ण सदस्यहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सहकारीको प्रभावकारी प्रयोगबारे जानकारी दिने उद्देश्यले कार्यक्रम राखिएकोे सहकारीका अध्यक्ष देवराज शर्माले बताए ।

पर्वत जिल्लाको जेठो सहकारीको रुपमा परिचित यस सहकारीले आफ्नो स्थापना दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो । पर्वत जिल्ला कार्यक्षेत्र रहेको सो सहकारीको प्रधान कार्यालय पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा ६ मा छ । फलेवास नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गरि आफ्नो कार्य सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश प्रमुख सहकारी अभियान्ता राम बहादुर जिसीको प्रमुख प्रशिक्षणमा सम्पन्न सो कार्यक्रममा सहकारीका संस्थापक भोला लम्साल, जगन्नाथ लम्साल, विष्णु प्रसाद लम्साल लगायतको उपस्थिति थियो । सहकारी संस्थाका अध्यक्ष देवराज शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव विश्वराज पाण्डेयले गरेका थिए भने कोषाध्यक्ष ऋषिराम भुसालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.