चरा पर्यटन प्रवद्र्धन गर्न चरा उत्सव हुने

सन्देश श्रेष्ठ
पोखरा । चरा संरक्षण गर्दै पर्यापर्यटन प्रवद्र्धनमा सघाउन पोखरामा असारको चौथो हप्ता चरा उत्सव हुने भएको छ । पोखरा पन्छी समाजको आयोजनामा पोखराको गौरीघाटमा यहि असार १९ गतेदेखि २१ गतेसम्म नेपाल बर्ड फेयर–२०१९ (नेपाल चरा उत्सव) आयोजना गर्न लागेको पोखरा पन्छी समाजले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

चरा उत्सवको पहिलो दिन उद्घाटन शत्र चल्ने आयोजकले जनाएको छ । उद्घाटन शत्र पछि चरा पहिचान र चराको बसाईसराईसम्बन्धी तालिम, दिउँसो जंगलको नियम र सावधानी, लाटोकोसेरोको पहिचान, मांसहारी चराहरुको पहिचानबारे तालिम सञ्चालन हुने पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । उनका अनुसार चरा उत्सवको दोश्रो दिन बर्ड वाचिङ, विद्यार्थीहरुलाई चराको जीवन सम्बन्धी जानकारी, फोटो प्रदर्शनी, पोस्टर प्रेजेन्टेसन, कला, फेस पेन्टिङलगायतका कला प्रदर्शनी तथा अन्तिममा चरा संरक्षणमा चुनौति र चराको बसाईसराई सम्बन्धी छलफल कार्यक्रम हुनेछ ।

चरा उत्सवको अन्तिम दिन विहानी शत्रमा पोखरा भ्यालीमा पाइने चरा र गिद्ध सम्बन्धी जानकारीमूलक पुस्तकको विमोचन हुनेछ भने त्यसपछिको समयमा नेपालमा चराको अवस्था, पोखरा भ्यालीमा पाइने चरा र तिनको अवस्था, चरा नृत्य हुनेछ । अन्तिम दिनको शत्रको दिउँसो उल्लु र यसको तस्करी, एक्याप क्षेत्रमा गरिएको चरा संरक्षण, पुरस्कार वितरणसहित समापन शत्र चल्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।

चराको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नु नै चरा उत्सवको मूख्य उद्धेश्य रहेको घिमिरेले बताए । चरा हेर्नमात्रैपनि पर्यटक नेपाल आउने गरेको उनले दाबी गरे । उनका अनुसार नेपालमा आउने कुल पर्यटक संख्यामध्ये ८ प्रतिशत पर्यटक चरा हेर्नका लागि आउने गर्छन् । तर पोखरामा भने ४ देखि ५ प्रतिशत मात्रै चरा हेर्नका लागि आउने गरेको उनलको भनाई छ ।

पोखरामा ४६७ प्रजातिका चरा पाइने बताइन्छ । पोखरा पन्छी समाजले पोखरा भ्यालीमा पाइने चराको अनुसन्धान गरि सो तथ्यांक निकालेको र यसैलाई आधार बनाएर चरा सम्बन्धी पुस्तक प्रकाशन गर्न लागेको पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालले जानकारी दिए । उनका अनुसार पुस्तक चरा उत्सवको अवसरमा विमोचन गरिनेछ ।

चरा उत्सव सम्पन्न गर्न करीब ८ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको पोखरा पन्छी समाजले जनाएको छ । चरा उत्सवलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन वोर्ड, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, जेएसएल नेपाल अफिस, नेपाल पन्छी संरक्षण संघ, नेपाल चराविद् संघ, राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, हरियो वन कार्यक्रम, टान, नाट्टा, रेवान, हानलगायतको सहयोग रहने जनाइएको छ ।

पोखरामा केहि न केहि इभेन्ट गरिरहने उद्देश्यले चरा उत्सवलाई सहयोग गरिएको नेपाल पर्यटन वोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले बताए । उनले चरा हेर्ने पर्यटक प्रशस्त हुने भएकाले त्यसलाई आकर्षित गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.