मकवानपुर उपमहानगरपालिकाद्वारा ६ महिनामा १९ करोड राजस्व सङ्कलन

बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आवको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा रु १९ करोड ७४ लाख ३७ हजार ९९३ राजस्व सङ्कलन गरेको छ ।

यो अघिल्लो आव २०८०/८१ को सो अवधिको तुलनामा सङ्कलन गरेको भन्दा रु ३ करोड १२ लाख बढी हो । सो चालु आवको ६ महिनामा सम्पत्ति करबाट रु ४ करोड ९४ लाख ६१ हजार, घरबहाल करबाट रु २ करोड ८१ लाख ७३ हजार, नक्सापास दस्तुरबाट रु २ करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु २ करोड १८ लाख ७५ हजार, सिफारिस दस्तुरबाट रु १ करोड ६२ लाख ८३ हजार, बहाल बिटोरी करबाट रु १ करोड ३३ लाख ९२ हजार, व्यवसाय करबाट रु १ करोड ८३ लाख ११ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले जानकारी दिए ।

अघिल्लो आव २०८०/८१ को सो अवधिमा उपमहानगरपालिकाले रु १६ करोड ६२ लाख ८६ हजार राजस्व सङ्कलन गरेको थियो । बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको ६ महिनामा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

You might also like

Comments are closed.