‘क्यान इन्फोटेक २०२५’ जारी, नवीनतम प्रविधि र आविष्कारको अवलोकन गर्न पाइने

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा बिहीबार शुरु भएको ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ जारी छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सोमबारसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो ३०औं संस्करण हो । इन्फोटेकमा अवलोककर्ताले नवीनतम प्रविधि र आविष्कारको अवलोकन गर्न पाउने छन् ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि सम्बन्धी नयाँ नीति, कानुन तथा निर्देशिकाहरूमा क्यान महासंघले समन्वयकारी भूमिका खेलिरहेको बताउँदै यो क्षेत्रमा देखिएका समस्याको हल नीतिगत तवरबाटै हुनुपर्नेमा जोड दिइन् । निजी क्षेत्र र सरकार मिलेर प्रविधिको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । १० वर्षमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी तथा ३० खर्बको आईटी सेवा निर्यातका लागि कार्ययोजना बनाउन मन्त्रालयसँग काम गर्न खोजेको उनले बताइन् ।

क्यान महासंघले यस वर्ष नीति निर्माण सम्बन्धी अवधारणा अगाडि सारेको भन्दै उनले प्रविधि क्षेत्रको विकासमा सरकारसँग नजिक रहेर काम गर्ने योजना रहेको बताइन् । “डेटा प्रोटेक्सन एक्ट, क्रिटिकल सर्भिसमा पर्ने डट एनपी सम्बन्धी नीति निर्माण गर्ने, राइड शेयरिङ सम्बन्धी नीति बनाउने, एआईका लागि अत्यन्त आवश्यक पर्ने डेटा मनिटरिङ र डेटा क्लिनजिङ सम्बन्धी काम, वैदेशिक लगानी ऐन २०२१ को संशोधन, ब्रोडब्यान्ड इन्टरनेटका लागि कर प्रणाली परिमार्जन गर्नुपर्ने, दूरसञ्चार पूर्वाधार सहप्रयोग सम्बन्धी निर्देशिका बनाउनुपर्ने, सूचना प्रविधि क्षेत्रका लागि चाहिने वर्कफोर्स तयार पार्ने सम्बन्धमा क्यान महासंघले अवधारणालाई अगाडि सारेको छ,” उनले भनिन् ।

३०औँ क्यान इन्फोटेकको प्रमुख प्रायोजन एचएमसी नेपाल हिक्सेमी र सह(शीर्ष प्रायोजन मर्कन्टाइल अफिस सिस्टमले गरेका छन् । प्रायोजनको आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम’ रहेको छ ।

त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा.लि. (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रा. लि. र अनलिमिटेड टेक्नोलोजी प्रा. लि. (ज्याप) रहेका छन् । साथै, प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रा. लि., एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रा.लि., डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा। लि। ९कताहो० र इनर्जी पार्टनरमा एग्जिबिशन लाइट हाउस रहेका छन् ।

यस प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ । क्यान इन्फोटेक व्यवसायीहरूले व्यापार विस्तार, नयाँ प्रविधिको प्रदर्शनी र ग्राहकसँग प्रत्यक्ष अन्तरक्रियाका लागि उत्कृष्ट अवसरको रूपमा प्रयोग हुने विश्वास गरिएको छ । प्रदर्शनीमा ब्राण्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट(अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, ई(गभर्नेन्स, इन्टरनेट कनेक्टिभिटी, लर्निङ सेन्टर लगायतका सेवा तथा उत्पादन राखिएको छ ।

यस पटक मुख्य आकर्षणमा एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारसम्म रहेको छ । त्यस्तै क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएकाले अवलोकनकर्ताको आकर्षण देखिएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स लगायतका प्रोजेक्ट राखिएका छन् ।

साथै, क्यान इन्फोटेकमा नास्टको स्मार्ट बसमा बसेर एआई कोडिङ गर्न सकिने भएको छ । क्यान महासंघ र नास्टले इच्छुक विद्यार्थीलाई यो अवसर सदुपयोग गर्न आह्वान गरेका छन् । त्यस्तै, क्यान इन्फोटेक २०२५ मा पहिलो पटक नेपालमै निर्मित मुनाल स्याटलाइट समेत अवलोकन गर्न सकिने छ ।

क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले क्यान इन्फोटेकमार्फत नेपाली नवप्रवर्तन, अनुसन्धान र आविष्कारका क्षेत्रका सक्रिय उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गरिएको बताए । प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाहरू उपभोक्तामाझ प्रवर्द्धन गर्दै ‘क्यान इन्फोटेक अफर’ अन्तर्गत छुट योजना सार्वजनिक गरेका छन् । साथै, कम्पनीहरूले उपभोक्तासँग नजिक हुन अन्तरक्रिया र रमाइला खेलहरू पनि सञ्चालन गरेका छन् ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रूपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार, सम्बन्धित निकायहरू, सूचना प्रविधि व्यवसायी, नीति निर्माता, विज्ञ, शिक्षण संस्था, सञ्चारकर्मी र प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष आह्वान गरेको छ ।

You might also like

Comments are closed.