काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा वीरगञ्जको होटल भिष्वामा साधारण सभा भएको हो ।
अध्यक्ष संघईले प्रस्तुत गरेको आ.व.२०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. ०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
साधारण सभाले आ.व. ०८०/८१ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम रु. १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ लाभांशको रुपमा प्रदान गर्ने जसमा १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आ.व.०८०/८१ मा आएका चुनौतीलाई अवसरमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजना बारेमा जानकारी दिएका छन् । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धीका लागि सरोकारवालालाई धन्यवाद दिएका छन् ।
असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २१५ अर्ब रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब र शेयरधनी कोष रु. १२ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल १९५ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
यसकासाथै कम्पनीले हालसम्म रु.२८८ अर्ब बीमाशुल्क आर्जन गरेको छ भने रु. ८४ अर्ब जम्मा दावी भुक्तानी गरेको छ । ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
Comments are closed.