डिजिटल नेपाल निर्माणका लागि नीतिगत पहलमा क्यान महासंघको जोड

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५–२०२७ रणनीतिक योजना बैठक सम्पन्न भएको छ । नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित गत फागुन १६ र १७ गते हेटौंडामा भएको बैठकले नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्ने गरी २ वर्षे रोडम्याप तय गरेको छ ।

बैठकले सूचना प्रविधि क्षेत्रमा नीतिगत सुधारको दिशा तय गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । संस्थालाई सुदृढ बनाउन विभिन्न कार्यक्रम र पहलहरू सञ्चालन गर्ने योजना बनाइएको छ । अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणका लागि विद्यमान नीतिमा सुधार, प्रविधि विकास, अनुसन्धान प्रवद्र्धन र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्य रहेको र विभिन्न क्षेत्रमा कार्य गर्ने योजना रहेको कार्ययोजना प्रस्तुत गरिन् ।

नेपालमा डेटा प्रोटेक्सन ऐन, ई–गभर्नेन्स ब्लुप्रिन्ट, राइड शेयरिङ ऐन, डन एनपी पोलिसी, इन्डस्ट्री ४.०, नेपाललाई उच्च साइबर सुरक्षा खतराबाट मुक्त पार्ने योजना, मेड इन नेपाल सफ्टवेयर र सेवाहरूको प्रवद्र्धन, आईसीटीको मानकीकरण र आईटी बोर्डको स्थापना, श्रम ऐनमा सुधार, आईटी विधेयक पारित गर्ने, ब्रोडब्यान्ड इन्टरनेट कर परिमार्जन लगायतका नीतिगत पहलहरू अगाडि बढाइने अध्यक्ष पाण्डेले उल्लेख गरेकीछिन् ।

वैदेशिक लगानी (एफडीआई)मा पाँच प्रतिशतसम्म शेयर उपलब्ध गराउने, आईटी उद्योगमा कर छुट, स्टार्टअपलाई प्रवद्र्धन गर्ने कार्यक्रम र फिनिसिङ स्कुलमार्फत उद्योगअनुकूल सीप विकास गर्ने कुरामा पनि जोड दिइएको छ । नेपाली आईटी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन विभिन्न पहलहरू अघि बढाउने, महिला सशक्तिकरणका लागि आईसीटीमार्फत कार्यक्रम सञ्चालन गर्ने र डिजिटल अर्थतन्त्रलाई बढावा दिने उद्देश्य राख्दै ठोस कदम चाल्ने प्रतिबद्धता जनाइएको छ ।

डिजिटल नेपाल निर्माणका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्दै ठोस परिणाम ल्याउन काम गरिने बताइएको छ । बैठकमा प्रस्तुत योजना र कार्यक्रमलाई आधार मान्दै आगामी २ वर्षे रणनीति तय गरिएको हो । सो अवसरमा बोल्ने पदाधिकारी तथा कार्यसमिति सदस्यले बदलिँदो समय अनुसार क्यानलाई सुदृढीकरण गर्न आफ्ना तर्फबाट सुझाव पेस गरेका छन् ।
क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जितकुमार पोदारले प्रविधि क्षेत्रको आर्थिक योगदान बढाउने नीति निर्माणको आवश्यकता औंल्याउँदै डिजिटल साक्षरता, नवप्रवर्तन, नीति सुधार र विश्वव्यापी साझेदारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

महासंघका उपाध्यक्षहरु चिरञ्जीवी अधिकारी, सुवास खड्का, हर्कबहादुर सेटी, शेखरनाथ दुलाल, सृजना श्रेष्ठ, सचिव सरिता न्यौपाने, कार्यसमिति सदस्य केशव भट्टराई लगायतले बोल्दै उत्पादन र प्रविधिमा सुधार ल्याउनका लागि सम्बद्ध नीति र कदममा ध्यान दिनुपर्ने बताएका छन् । बैठकमा सहभागी कार्यसमितिका पदाधिकारी एवम् सदस्यका लागि क्यान मकवानपुर शाखाले स्वागत तथा रात्रिभोजको आयोजना गरेको थियो ।

क्यान महासंघबारे :
सन् १९९२ मा स्थापना भएको क्यान महासंघ (तत्कालीन क्यान) ले नेपालमा सूचना प्रविधि क्षेत्रका विभिन्न जनशक्ति, विज्ञ, संघ÷संस्थाहरू र व्यवसायीको छाता संगठनको रूपमा कार्य गर्दै आएको छ । यस संस्थाले सूचना प्रविधिसम्बन्धी व्यवसायी तथा विज्ञहरूको हकहितको संरक्षण गर्दै सूचना प्रविधिको नीति निर्माण, कार्यान्वयन र सहजीकरणका क्षेत्रमा सरकारलाई आवश्यक सुझाव र सहयोग प्रदान गर्ने गर्छ ।

क्यानमार्फत सूचना प्रविधिको क्षेत्रलाई सुदृढ पार्न विभिन्न पहल र कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । सन् २०१५ मा क्यानले आफ्नो संरचना र दायरा विस्तार गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघको नाममा रुपान्तरित भएको हो । यसपछि यस संस्थाले नेपालका सूचना प्रविधि व्यवसायीको वकालत गर्दै समग्र सूचना प्रविधि क्षेत्रमा व्यापक परिवर्तन र सुधार ल्याउन महत्त्वपूर्ण कदमहरू चालेको छ ।

You might also like

Comments are closed.