गुरुङ समुदायको अन्तर्क्रिया तथा पुर्नमिलन कार्यक्रम सम्पन्न

काठमाडौं । पर्यटकीय गाउँ सिक्लेस र फिरफिरेका गुरुङ समुदाय बीच सिक्लेसमा अन्तर्क्रिया गरिएको छ । सिक्लेसबाट नवौँ पुस्ता पहिलेदेखि बसाइसराई गर्दै कास्की स्याङ्जा हुँदै तनहुँको फिरफिरेमा पुगेका ल्हेगे तमु (गुरुङ) हरुले आफ्नो पुख्र्यौली थलो चिली नाँसा (सिक्लेस) मा ल्हेगे भाईहरुसंग अन्तर्क्रिया गर्दै पुर्नमिलन कार्यक्रम गरेका हुन् ।

ओली ल्हेगे तमु भाई खलक शुक्लागण्डकी १२ फिरफिरेको आयोजनामा भएको भ्रमण टोलिमा ९४ वर्षीय पच्यू गुरु पौबहादुर ल्हेगे गुरुङ, ८९ वर्षीय निलप्रसाद ल्हेगे गुरुङसहित ३४ जना सहभागी भएका थिए । यसैबीच सिक्लेसस्थित चिली क्होईबो धींमा सम्पन्न स्वागत सम्मान, अन्तक्र्रिया र पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ । उत्तर पूर्वी ल्हेगे समाजका अध्यक्ष क्या.बीरबहादुर ल्हेगे गुरुङको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मादी गाउँपालिका–१ का वडाध्यक्ष देबीजंग ल्हेगे गुरुङ, शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष ईन्द्र ल्हेगे गुरुङ, ओली ल्हेगे भाई खलकका अध्यक्ष गम्वीर सिंह ल्हेगे गुरुङ, पोखरा रोयल सहकारीका सिईओ भीम ल्हेगे गुरुङ, पच्यू गुरु जमानसिंह ल्हेगे गुरुङ, कार्यक्रम संयोजक खेमचन्द्र ल्हेगे गुरुङ र चिली क्होईबो धी व्यवस्थापन समितिका उपाध्यक्ष मीलन ल्हेगे गुरुङ लगायतले पूर्खाहरुले आफ्नो उत्पत्ति थलो छोडेर विभिन्न स्थानमा बसोबास गरिरहेको बताउँदै पुर्नमिलन कार्यक्रमले आफ्नोपनको महसुस भएको र सिक्लेस र फिरफिरे बीच भावनात्मक सम्बन्ध विस्तार हुने बताएका छन् ।

ल्हेगे गुरुङहरु क्होला सोंथरबाट सिक्लेसमा आई पहिलो पटक बसोबास गरेको स्थान ल्हेजकों, चिली क्होईबो, गुरुङ संग्रहालय, सिक्लेस पार्क र सिक्लेस गाउँको अवलोकन गरेका छन् । उत्तर पूर्वी ल्हेगे परिवारले रात्रीभोजको समेत आयोजना गरेका थिए । सो अवसरमा समुदायका ज्येष्ठ सदस्यहरु पौबहादुर गुरुङ र निलप्रसाद गुरुङलाई सम्मान गरिएको छ ।

यसैबीच मादी–१ का वडाध्यक्ष देवीजंग ल्हेगे गुरुङ र शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष ईन्द्र ल्हेगे गुरुङले भेटघाटले उत्साहित भएको बताउँदै आफ्नो कार्यकालमा ल्हेजकों परिसरमा पुर्खाहरुको सम्झनामा साँस्कृतिक तथा ऐतिहासिक महत्व झल्कने आवश्यक संरचना निर्माणको लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

You might also like

Comments are closed.