काठमाडौं । एनसेल नेपाल सुपर लिगले आफ्नो बहुप्रतिक्षित सी–श्रेणी खेलाडी ड्राफ्ट सफलतापूर्वक सम्पन्न गरेको छ । आगामी सिजन अगाडि सबै सात टोलीले आशाजनक युवा प्रतिभाहरू सुरक्षित गरेको सुनिश्चित भएको छ ।
सी–श्रेणीमा कुल ९४ खेलाडीहरू सर्टलिस्ट गरिएका थिए, जसमध्ये २७ जना छनौट भएका थिए भने पोखरा थन्डर्स एफसीले ड्राफ्ट अघि एक खेलाडीलाई कायम राखेको छ । प्रत्येक फ्रान्चाइजीले लिगमा सीप, जाँेश र क्षमता ल्याउने चार खेलाडीहरू छनोट गरेर आफ्नो रोस्टरलाई अन्तिम रूप दिएको छ ।
एनएसएल सी–श्रेणी खेलाडी ड्राफ्ट मार्फत सातै टिमका लागि निष्पक्ष छनोट प्रक्रिया सुनिश्चित गरिएको छ । प्रत्येक टिमले चारजना खेलाडी छनोट गरेका छन् । ड्राफ्टको क्रम लटरी प्रणाली मार्फत निर्धारण गरियो । पहिलो चरणमा टिमलाई क्रमैसँग छनोट गर्ने अवसर दिइएको थियो भने त्यसपछि स्नेक ढाँचामा चयन प्रक्रिया अगाडि बढेको थियो । यस अनुसार प्रत्येक अल्टरनेट चरणमा छनोटको क्रम उल्टो गरी गरिएको छ ।
उदाहरणका लागि, पहिलो र तेस्रो चरणमा टिम १ देखि टिम ७ सम्म चयन गर्ने क्रममा, दोस्रो र चौथो चरणमा टिम ७ बाट टिम १ सम्मको क्रम अपनाइएको थियो । यस प्रणाली अनुसार सबै टिमहरूले आफ्नो सी–श्रेणी खेलाडी कोटा पूरा गरेका छन् । ड्राफ्टको पहिलो चरणमा बुटवल लुम्बिनी एफसीले सुमन श्रेष्ठलाई स्वागत गरेको छ भने धनगढी एफसीले अमृत श्रेष्ठलाई अनुबन्ध गरेको बताइएको छ ।
एफसी चितवनले विवेक गुरुङलाई, झापाले सृजन दानीलाई छनोट गरेको छ । काठमाडौं रेजर्स एफसीले भरत चौधरी, ललितपुर सिटी एफसीले मनोज राई र पोखरा थन्डर्स एफसीले नरेन चौधरीलाई रिटेन गरेको छ । दोस्रो चरणमा बुटवल लुम्बिनी एफसीले निङ्साङ लिम्बु र धनगढी एफसीले रोहन खड्गीलाई छनोट गरेको छ । एफसी चितवनले शिशिर चौधरी र झापा एफसीले एरोन थापालाई छनोट गरेको बताइएको छ । काठमाडौं रेजर्स एफसीले मौसम लुंगेली मगरलाई, ललितपुर सिटी एफसीले पवन शाहीलाई र पोखरा थन्डर्स एफसीले गौरव श्रेष्ठलाई छनोट गरेको छ ।
तेस्रो राउण्डमा बुटवल लुम्बिनी एफसीले खेमराज श्रेष्ठलाई छनोट गरेको छ भने धनगढीले हरिशराज बठिट्टालाई प्राप्त गरेको छ । एफसी चितवनले विशाल स्याङ्तेनलाई टोलीमा राखेको छ भने झापाले श्याम मुर्मुलाई छनोट गरेको छ । काठमाडौं रेजर्स एफसीले पुस्कर खड्का, ललितपुर सिटी एफसीले दिपेश घले र पोखरा थन्डर्स एफसीम सकल रेग्मी अनुबन्ध भएका छन् ।
त्यस्तै, चौथो राउण्डमा बुटवल लुम्बिनी एफसीले मनिष सेडाई र धनगढीले सन्तोष महतलाई, एफसी चितवनले आफ्नो स्थान बलियो बनाउनको लागि प्रदीप भण्डारीलाई लिएको छ भने झापा एफसीले अभिषेक गुरुङलाई अनुबन्ध गरेको छ । काठमाडौं रेजर्स एफसीले पेम्बा दोर्जे लामा, ललितपुर सिटी एफसीले अनिश क्षेत्री र पोखरा थन्डर्स एफसीले प्रविणकुमार सुनारलाई ल्याएका छन् ।
सी–श्रेणी ड्राफ्ट पूरा भएपछि सबै टोलीले अब आफ्नो युवा प्रतिभाहरू सुरक्षित गरेका छन्, जसले आफ्नो टोलीमा गहिराइ र ऊर्जा थपेको छ । एनसेल नेपाल सुपर लिग आयोजक समितिले सी श्रेणीका खेलाडीको लागि मूल्य दायरा रु १ लाख देखि रु १.५ लाख सम्म तोकेको छ । टोलीहरू अब सम्झौतालाई अन्तिम रूप दिन आ–आफ्नो छनोटसँग वार्तामा प्रवेश गरिरहेका छन् ।
Comments are closed.